चितवन, २५ पुस । चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

शुक्रबार अपरान्ह करिब ४ः३० बजे भरतपुर महानगरपालिका–२२ स्थित कुमियामा भरतपुरबाट माडी तर्फ जाँदै गरेको ना २४ प ५२९४ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ३६८३ नम्बरको टिप्परसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालका अनुसार दुर्घटनामा मृत्यु हुनेमा माडी नगरपालिका–२ भैरपुरका ३५ वर्षीय सूर्य नारायण महतो रहेका छन्। महतोले चलाएको मोटरसाइकलको टायर पञ्चर भई अनियन्त्रित हुँदा टिप्परभित्र छिरेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका महतोको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। मोटरसाइकलको पछाडि सवार केशर महतो भने सामान्य घाइते भएका छन्। प्रहरीले मोटरसाइकल, टिप्पर तथा टिप्पर चालकलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।–00–

Share:

सम्बन्धित समाचारहरु