मेयर विनोद रेग्मीको मार्मिक अपील: “धुलो टकटकाएर फेरि उठौं, नगर हामीले नै बनाउनु पर्छ”

कालिका, चितवन | कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले हालको असहज परिस्थितिमा जनताको पीडा, समस्याहरू र व्यक्तिगत सङ्घर्षलाई उजागर गर्दै सामाजिक सञ्जालमार्फत एक मार्मिक अपील गरेका छन्।

रेग्मीले आफूमाथि आइपरेका व्यक्तिगत कठिनाइहरू उल्लेख गर्दै, जनताको दुःख बुझ्न र सेवा गर्न आफू सधैं तत्पर रहेको जनाएका छन्। “मैले पदमा हुँदा वा नहुँदा पनि जनताको पीडा, बेदना र अप्ठ्यारो बुझ्ने प्रयास गरिरहेकै थिएँ र अझै पनि गरिरहनेछु,” उहाँले लेख्नुभएको छ।

उहाँले भावुक हुँदै आफू र परिवारले भोग्नुपरेको पीडाको उल्लेख गर्दै भनेका छन्, “मेराे दुई वर्षका अबोध छोरालाई, छोरी र श्रीमतीलाई लिएर ज्यान जोगाउन धानबारीमा लुकेर बस्नुपरेको अवस्था आयो। यस्तो पीडा, बेथा, दबाब कसले बुझ्ने?”

तर, यस्तो कठिन अवस्थामा पनि उहाँ कसैप्रति आग्रह वा पूर्वाग्रह नराखी, अझ बढी सेवाभावका साथ काम गर्ने अठोट व्यक्त गर्नुहुन्छ। “म अरूकाे पीडा बुझ्न अझ बढी प्रयास गर्नेछु,” उहाँले लेख्नु भएको छ।

रेग्मीले नगरवासीहरूलाई एकताबद्ध भएर पुनर्निर्माणतर्फ लाग्न पनि आह्वान गरेका छन्। उहाँले भनेका छन्, “धेरै वर्ष लगाएर बनाएका निजी तथा सार्वजनिक अभिलेख, भौतिक संरचनाहरू ध्वस्त छन्। तर हरेश नखाई, हामी सबै मिलेर फेरि नगर बनाउनेछौं।”

“फेरिपनि एक पटक धुलो टकटकाएर उठौं। हामी सबैको मनोबल उठाऔं। हाम्रो नगर हामीले नै बनाउनुपर्छ,” भन्दै उहाँले समस्त नगरवासीलाई एकजुट भएर अघि बढ्न प्रेरित गर्नुभएको छ।

उहाँको यो सन्देश अहिलेको कठिन घडीमा धेरैका लागि सम्बल बन्न सक्छ। —000–

Share:

सम्बन्धित समाचारहरु