कालिका, १ असार । कालिका नगरपालिकाको वडा नं. ३ स्थित २ सय विगहाक्षेत्रका स्थानीयलाई लक्षित गरेर दुईदिने निशुल्क स्वास्थ्य शिविर आजदेखि सुरु भएको छ ।
श्री जनहित राष्ट्रिय आधारभूत विद्यालय र श्री बनकट्टा आधारभूत विद्यालयमा आयोजना गरिएको स्वास्थ्य शिविरको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले स्वास्थ्य क्षेत्रलाई सहज बनाउन नसके सम्म सम्बृद्ध नगर निर्माणहुन नसक्ने बताए । निशुल्क स्वास्थ्य शिविरले आफ्नो नगरबासीहरुलाई फाइदा पुग्नेभन्दै नगर प्रमुख रेग्मीले आगामी दिनमा पनि आयोजक संस्थाहरुसँग सहकार्यगर्न तयार रहेको बताए ।
फोर द वानकी सुनिता लुईटेलले यहाँको स्थानीयहरुको अवस्थादेखेर यो ठाउँमा स्वास्थ्य शिविर आयोजनागर्ने निर्णय गरेको जानकारी दिए । विरामी भएर पनि कयौं वर्षदेखि अस्पताल जान नसकेका, चिकित्सकहरुसँग परामर्श लिन नपाएकाहरुको अवस्थालाई मध्यनजर गर्दै विभिन्न संघसंस्थासँगको हातेमालामा दुईदिने निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बताइन ।
फोर द वान, सामुदायिक सहयोग केन्द् नेपाल, गुन्जमान अस्प्ताल, भृदेनभान आँपपिपल, नेदरल्याण्ड, कलेज अफ मेडिकल साइन्सेस र नेपाली छाला क्लिनिकको संयुक्त आयोजनामा शिविर आयोजना गरिएको हो । महिला सम्बन्धि रोगको परीक्षण र उपचार, दन्त शिविर, चर्म(छाला) सम्बन्धि चेकजाँच र उपचारसँगै अन्य सामान्य स्वास्थ्य परीक्षण भइरहेको छ ।
आज पहिलो दिन जनहित राष्ट्रिय आधारभूत विद्यालयमा शिविर संचालन गरिएको छ । भोली (शनिवार) वडा नं. ३ कै बनकट्टा आभारभूत विद्यालयको परिसरमा शिविर आयोजना हुनेछ । विहान ९ बजेदेखि बेलुकी ५ बजे सम्म शिविर संचालन हुनेछ ।
कार्यक्रम वडा नं. ३ का वडा अध्यक्ष वीरेन्द्र तामाङको अध्यक्षतामा आयोजना गरिएको हो ।



–00–


