कोरोनाका कारण दुई बर्ष रोकिएको बोलबम मेला यसबर्ष हुने

चितवन, असार २१

देवघाटधाममा कोरोनाका कारण दुई बर्ष रोकिएको बोलबम मेला यसबर्ष हुने भएको छ । देवघाट क्षेत्र विकास समितिले तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटमा यो वर्ष बोलबम मेलाको तयारी सुरु गरेको हो ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार बोलबम मेलाका लागि आवश्यक तयारीका काम सुरु भएका छन् । उहाँले देवघाटमा साउन महिनाभर लाग्ने मेलामा नदीको वेणि संगम, वत्ती, खानेपानी, सुरक्षा लगायतका व्यवस्थापनका काम गरिने बताउनुभयो । ‘दुई बर्षदेखि आउन नपाएका भक्तजनहरु यस बर्ष उल्लेख्य संख्यामा आउनुहुन्छ,उहाँले भन्नुभयो,सोही अनुसार हामीले व्यवस्थापनको काम गर्नेछौं ।’ उहाँले साउन महिनाभर वारी पारी दुवै ठाँउमा क्षेत्र विकास समितिको सचिवालय राखिने जानकारी दिनुभयो ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले यसबर्ष साउनमा पाँचवटा सोमबार परेकाले पनि धेरै भक्तजन आउने अनुमान गरिएको बताउनुभयो । उहाँले स्नान गर्ने ठाँउमा आवश्यक डुङगा र तालिम प्राप्त सुरक्षाकर्मी तैनाथ अवस्थामा राखिने जानकारी दिनुभयो । देवघाट क्षेत्र विकास समितिले राख्ने सचिवालयबाट निरन्तर जनचेतनामूलक जानकारी प्रवाह भइरहने उहाँले बताउनुभयो ।

कोरोनाका कारण दुईबर्ष समितिले नै सूचना जारी गरेर मेला भर्न रोक लगाएको थियो । यधपि आंशिक रुपमा भक्तजनहरु स्नानका लागि आएका थिए । देवघाटमा हरेक वर्ष साउन महिनाको हरेक सोमबार बोलबम मेला लाग्ने गर्छ । मेला भर्न लाखौं भक्तजन देवघाट आउने गर्दछन् । हरेक सोमबार बोलबम मेला लाग्ने भए पनि साउन महिनाभर देवघाट मेलामय हुने गर्छ । हरेक वर्ष साउन महिनामा देवघाटमा श्रावणी बोलबम मेला एउटा विशेष उत्सवको रुपमा मनाउने परम्पराको विकास हुँदै आएको छ ।

मुक्तिनाथबाट बगेर आएको कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएको त्रिशूलीको सङ्गम बेणीमा बोलबमको अवसरमा स्नान गर्नाले भगवान शिव खुशी हुने र चर्मरोग निको हुने जनविश्वास छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु