– रेशम सापकोटा
चितवन । उद्योग वाणिज्य संघ चितवनको निर्वाचनले आज जिल्लाको व्यावसायिक र आर्थिक वृत्तमा ठूलो चासो सिर्जना गरेको छ। संघको नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो। आयोजक समितिका अनुसार मतदान दिउँसो ४ बजेसम्म तोकिए पनि मतदाताहरूको बाक्लो उपस्थितिका कारण साँझ ८ बजेसम्म मतदान सञ्चालन गरिनेछ।

२५ सदस्यीय कार्यसमितिका लागि ४१ जनाको उम्मेदवारी परेपछि मनोनयन दर्ता सम्पन्न भई अध्यक्षदेखि कार्यसमिति सदस्यसम्मको अन्तिम सूची सार्वजनिक भएको थियो। यससँगै चुनावी प्रतिस्पर्धा झनै तीव्र बनेको छ।
यस निर्वाचनको मुख्य केन्द्र अध्यक्ष पदको भिडन्त बनेको छ। संघका वर्तमान वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी र युवा व्यवसायी शिरिष पन्तबीच अध्यक्ष पदका लागि प्रत्यक्ष प्रतिस्पर्धा भइरहेको छ। संघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने परम्परा रहँदै आएको भए पनि पन्तको उम्मेदवारीले यस पटक चुनावलाई परम्परा र नयाँ सोचबीचको टकरावका रूपमा प्रस्तुत गरेको छ।

चितवनको बजार क्षेत्रमा पार्किङ अभाव, अव्यवस्थित व्यापारिक वातावरण, घट्दो ग्राहक चहलपहल र बढ्दो लागत जस्ता समस्यालाई चुनावी बहसका प्रमुख विषय बनाइएको छ। दुवै पक्षले संघलाई बढी प्रभावकारी र व्यवसायमैत्री बनाउने प्रतिबद्धता जनाउँदै मतदाता समक्ष आफ्नो पक्ष प्रस्तुत गरिरहेका छन्। वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र ओली र लोबहादुर रानाभाट, उद्योग उपाध्यक्षमा अशोक अधिकारी र जनक पौडेल, वाणिज्य उपाध्यक्षमा गुणराज पौडेल र नारायण प्रधान तथा वस्तुगत उपाध्यक्षमा राजन पिया, लिलबहादुर क्षेत्री र शंकर अधिकारीबीच प्रतिस्पर्धा छ। कार्यसमिति सदस्य पदमा पनि महिला, कर्पोरेट, उद्योग, वाणिज्य र वस्तुगततर्फ कडा चुनावी भिडन्त भइरहेको छ भने क्षेत्रीयतर्फ रेशम आचार्य (तुलसी) निर्विरोध निर्वाचित भइसकेका छन्।
संघको अधिवेशनबाट पाँच पदाधिकारीसहित २५ सदस्यीय कार्यसमिति चयन हुनेछ, जसले आगामी दिनमा चितवनको उद्योग र व्यापार क्षेत्रको नेतृत्व गर्नेछ। निर्वाचन मण्डलका अनुसार मतदान प्रक्रिया सकिएपछि दुवै पक्षको सहमतिमा भोलि बिहानबाट मतगणना सुरु गरिनेछ। त्यसपछि मात्र उद्योग वाणिज्य संघ चितवनको भावी नेतृत्व कसको हातमा जाने हो भन्ने टुंगो लाग्नेछ।–00—


