काठमाडौं, ३ बैशाख । । सत्तारूढ दलका शीर्ष नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज साँझका लागि बोलाइएको छ।
सरकारको स्थायित्वबारे उठिरहेका प्रश्न, सत्तारूढ दलभित्र देखिएको असमझदारी र गठबन्धनभित्रको अन्तरद्वन्द्व चर्किंदै गएको पृष्ठभूमिमा बैठक बोलाइएको हो। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार बैठक नेताहरूको समयअनुसार आज साँझ बस्नेछ।
मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गभर्नर नियुक्ति, संवैधानिक निकायहरूमा बढुवा, शिक्षक आन्दोलन र सरकारको समग्र कामकारवाहीबारे विस्तृत छलफल भएको थियो।
यही बेला कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला, महामन्त्री गगन थापा लगायतले प्रधानमन्त्रीको कार्यशैलीप्रति सार्वजनिक रूपमा आलोचना गरिरहेका छन्। अर्कोतर्फ, प्रमुख विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि सरकार परिवर्तन हुने दाबी गर्दै आएका छन्।
यिनै समसामयिक विषयमा छलफल गर्न र गठबन्धनभित्र कुनै तिक्तता नरहेको सन्देश दिन बैठक आह्वान गरिएको स्रोतले जनाएको छ।
कांग्रेस-एमाले गठबन्धनका तर्फबाट संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन्। कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन्।–00–


