गोरखामा दोस्रो तान्द्राङ कप २०८२ आयोजना हुँदै

गोरखा । एकता, उत्साह र फुटबल सबैको सम्मान भन्ने नाराका साथ गोरखा जिल्लाको भिमसेन थापा गाउँपालिका वडा नं.३ स्थित कुलिगैरामा दोस्रो तान्द्राङ कप २०८२ आयोजना हुने भएको छ।

पौष २८ गतेदेखि सुरु हुने खुला पुरुष फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक तान्द्राङ युवा क्लबले जनाएको छ। प्रतियोगिताका लागि फुटबल मैदान व्यवस्थापन, टिम दर्ता प्रक्रिया लगायतका काम तीव्र गतिमा भइरहेको आयोजकको भनाइ छ।

माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, दोस्रो हुने टिमले ८८ हजार ८ सय ८८ रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने तेस्रो हुने टिमले ४४ हजार ४ सय ४४ रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ। उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता, इमर्जिङ प्लेयर तथा प्लेयर अफ द टुर्नामेन्टलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ। यस्तै, उत्कृष्ट गोल गर्ने खेलाडीलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूको दर्ता प्रक्रिया जारी रहेको छ। पौष २५ गतेसम्म टिम दर्ता गर्न सकिनेछ। टिम दर्ताका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको आयोजकले जनाएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु