चितवन, ६ साउन । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीका नेताहरूबाट भएका गल्तीहरू स्वीकार गर्न आफू तयार रहेको बताएका छन्। ४३औं वीपी स्मृति दिवसको अवसरमा भरतपुर महानगरपालिका ११ नं. वडा वडा समितिले आयोजनामा गरेको वीपी स्मृति भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले आफुहरुवाट गल्तीभएको स्वीकार गरेका हुन । उनले नागरिकसँग माफी माग्नुपर्ने स्पष्ट पारे।
“हामी सबैबाट गल्ती भयो। त्योमध्ये एक ठूलो गल्ती भनेको काँग्रेसका मतदातालाई अर्को पार्टीको चुनाव चिन्हमा मत हाल्न लगाउनु हो,” उनले भने, “त्यो गल्ती स्वीकार गर्छु। म त्यसको जिम्मा लिन्छु।”
महामन्त्री थापाले नेपाली काँग्रेस नेकपा एमालेजस्तो कर्पोरेट पार्टी नभएको उल्लेख गर्दै काँग्रेसको मतदाता अरु पार्टीका मतदाताजस्तो नभएको बताए। “डरका कारण मतदातालाई अर्को चिन्हमा मत हाल्न लगाउनु कमजोरी थियो। हामी त्यो सच्चाउन तयार छौं,” उनले भने।
कार्यक्रममा चितवनका पार्टी नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले नागरिकमा तीव्र असन्तुष्टि रहेको उल्लेख गरे। “हामी नागरिकको इच्छा अनुसार काम गर्न सकेनौं। नागरिकमा अहिले असन्तुष्टि बढेको छ, आगो बलिरहेको छ। अब त्यो आगो निभाउने जिम्मा काँग्रेसले लिनुपर्छ,” थापाले भने, “एकथरी मट्टीतेल खन्याइरहेका छन्, तर हामीले आगो निभाउनै पर्छ।”
चितवन पुगेपछि मनमनै संकल्प लिएको जनाउँदै उनले भने, “अब म नागरिकसँग सघन संवादमा उत्रन चाहन्छु। एक वर्षभित्र काँग्रेसभित्र पुनः जागरण अभियान लिएर हिँड्ने लक्ष्य लिएको छु।”
महामन्त्री थापाले संगठनलाई बलियो बनाउनेतर्फ ध्यान दिनुपर्ने धारणा राखे। “पद ठूलो कुरा होइन, विचार र पार्टीप्रतिको लगाव ठूलो कुरा हो,” उनले भने। उनले चितवनमा पार्टीको आन्तरिक विषयमा छुट्टै छलफल गरिने जानकारी दिए। छलफल र बहसका आधारमा पार्टीलाई अझ मजबुत बनाउने दिशामा सबै लाग्नुपर्ने उनले स्पष्ट पारे।
कार्यक्रमका प्रमुख अतिथि रहेका थापाले अहिले नै चुनावको पछि नलाग्न कार्यकर्तालाई आग्रह गरे। “चुनावले मान्छेलाई लोभी बनाउँछ। त्यसकारण चुनावको चिन्ता छाडौं, पहिला संगठनलाई बलियो बनाऔं,” थापाको भनाइ थियो। कार्यक्रममा नेपाली काँग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले अब सामाजिक सञ्जालमार्फत विचार र धारणा नागरिकसम्म पुर्याउनुपर्ने धारणा राखे। “समय परिवर्तनशील छ। अब कन्टेन्ट बेस्ड भएर अघि बढ्न नसके काँग्रेस कमजोर हुन सक्छ,” उनले भने, “देशबाहिर रहेका नेपालीहरू पुराना पार्टीप्रति निराश छन्। यो भ्रम चिर्न जरुरी छ।”
श्रेष्ठले भातृ संस्थाहरूको चुनाव आवश्यक रहेको उल्लेख गर्दै त्यसले पार्टीभित्र उत्साह फर्काउने विश्वास व्यक्त गरे। “हामी योजना बनाइरहेका छौं, केन्द्रमा छलफल भइरहेको छ,” उनले जानकारी दिए।
कार्यक्रममा काँग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले गगन थापालाई काँग्रेसभित्र नेतृत्वको प्रतीकका रूपमा अघि बढाउनुपर्ने बताए। “गगन थापाले चाहे पार्टीभित्र होस् वा मन्त्री हुँदा, जुन काम गर्नुभयो, त्यसले उहाँ नेतृत्वका लागि योग्य हुनुहुन्छ भन्ने सन्देश दिन्छ,” उनले भने, “गगनको नेतृत्वले गर्विलो काँग्रेस निर्माण हुनेछ भन्ने विश्वास लिएको छु।” कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सभापति टेकप्रसाद गुरुङ, जिल्ला सभापति रामेश्वर खनाल, सांसद अञ्जनी श्रेष्ठ, पार्टी प्रवक्ता ज्ञानेन्द्र गिरी, तरुण दलका नेता निर्मलराज कडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा वीपी स्मृति भवन निर्माणमा सहयोग गर्ने दाताहरूलाई सम्मान समेत गरिएको थियो।
–00–


