चितवन । पछिल्ला तीन दिनयता चितवनमा शीतलहरसँगै अत्यधिक चिसो बढेको छ । औसत न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस वरिपरि झरेपछि जनजीवन प्रभावित बनेको छ । चिसोका कारण स्थानीय बासिन्दा आगो तापेर बस्न थालेका छन् भने बजार क्षेत्र पनि सुनसान देखिएको छ ।
मौसम प्रतिकूल बनेपछि भरतपुर विमानस्थल तीन दिनदेखि बन्द छ । उडानका लागि आवश्यक भिजिविलिटी नपुग्दा शनिबारदेखि विमान उडान ठप्प रहेको विमानस्थल प्रशासनले जनाएको छ । उडान बन्द हुँदा यात्रुको टिकट रिफन्ड तथा मिति परिवर्तन भइरहेको छ ।
अत्यधिक चिसोका कारण भरतपुर महानगरपालिकाले पुस १६ गते एक दिनका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । चिसोले बालबालिकाको आवागमन र पठनपाठनमा असर परेको भन्दै महानगरले बिदा दिएको हो ।–00–

