फागुन २१ एजेन्सी । विश्वकै सफल क्रिकेटर अस्ट्रेलियाका शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । उनको हिजो थाइल्यान्डमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अस्ट्रेलिया क्रिकेटका अर्का पूर्व खेलाडी रड मार्सको निधन भएको केही घण्टापछि वार्नको पनि निधनको खबर आएको हो । वार्नको व्यवस्थापन सम्बन्धी संस्थाले जारी गरेको विज्ञप्तिमा वार्नको थाइल्यान्डको कोह समुइमा निधन उल्लेख छ । उनी आफ्नै घरमा अचेत अवस्थामा फेला परेका थिए । स्वास्थ्यकर्मीको अथक प्रयासका बाबजुद उनलाई बचाउन नसकिएको विज्ञप्तिलाई उद्धृत गर्दै फक्स क्रिकेटले उल्लेख गरेको छ । वार्नलाई हृदयघात भएको हुनसक्ने अनुमान गरिएको छ ।
लेगस्पिनर वार्नले अस्ट्रेलियाबाट १ सय ४५ टेस्ट र १ सय ९४ ओडीआई खेलेका थिए ।उनले टेस्टमा ७ सय ८ विकेट र ओडीआईमा २ सय ९३ विकेट लिएका थिए । टेस्टमा वार्न श्रीलङ्का स्पिनर मथैया मुरलीधरनको ८ सय विकेटपछि सर्वाधिक विकेट लिने बलर समेत हुन् । वार्न सन् १९९२ देखि २००५ सम्म विश्व क्रिकेटका उत्कृष्ट स्पिनर थिए ।