काठमाडौं, ८ असार । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश स्थानमा मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पहाडी भूभागका धेरै स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ।
उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ।
महाशाखाले वर्षाका कारण नदी तथा खोलानालाहरूको जलसतह बढ्ने, गेरान बहाव, बाढी, पहिरो तथा भूक्षयका जोखिम बढ्न सक्ने जनाउँदै जनस्वास्थ्य, कृषि, यातायात र दैनिक जनजीवनमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
दिउँसोको अवस्था-
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी लगायतका पहाडी क्षेत्रका धेरै स्थान र अन्य भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भूभाग र अन्य प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी जारी गरिएको छ।
रातिको अवस्था-
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

