काठमाडौँ । मध्यराति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भएको भनिएको सम्झौतालाई सकारात्मक रूपमा लिँदै रवि लामिछानेका दाजु तथा रेडियोकर्मी हरिशरण लामिछानेले काठमाडौँको मेयर पदमा उम्मेदवारी दिने संकेत गरेका छन्।
लामिछानेले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै दुई भाइबीच भएको सम्झौताप्रति सम्मान र खुशी व्यक्त गरेका छन्। उनले काठमाडौँ महानगरपालिकाको आगामी मेयर पदका लागि आफ्नो ‘स्वतन्त्र उम्मेदवारी’ रहने प्रबल सम्भावना रहेको जानकारी गराएका हुन्।
“दुई भाइको सम्झौताप्रति सम्मान र खुशी व्यक्त गर्दै काठमाडौँ महानगरपालिकाको भावी मेयर पदमा मेरो स्वतन्त्र उम्मेदवारी रहने प्रबल सम्भावना रहेको जानकारी गराउँदछु,” उनले भनेका छन्।
हरिशरण लामिछाने रेडियो नेपालबाट सेवानिवृत्त कर्मचारी हुन्। उनी भदौ महिनामा भएको ‘जेन्जी आन्दोलन’का क्रममा रेडियो नेपालको स्टुडियो प्रवेश गरी करिब १५ मिनेटभन्दा बढी समय राष्ट्रिय प्रसारण कब्जा गरेको घटनाका कारण चर्चामा आएका थिए।
उनको सम्भावित उम्मेदवारी घोषणाले काठमाडौँको स्थानीय राजनीति थप चासोको विषय बनेको छ।

–00–


