चितवन । चितवनको कालिका नगरपालिका वडा नं. ५ मा अवस्थित भीमोदय नमुना माध्यमिक विद्यालयले विभिन्न कार्यक्रमसहित आफ्नो ५५औँ वार्षिकोत्सव मनाइरहेको छ।
वार्षिकोत्सवको अवसरमा विद्यालय परिसरमा आज आयोजित एक समारोहका बीच विद्यार्थी निर्मित शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालय, मकवानपुरको आर्थिक सहयोगमा आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक इन्द्रनाथ पौडेलले जानकारी दिनुभयो।

शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रमको उद्घाटन कालिका नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दीपकबहादुर भट्टराईले गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष भट्टराईले यस्ता सिर्जनात्मक गतिविधिले विद्यार्थीको सीप, क्षमता र सिर्जनशीलता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक इन्द्रनाथ पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालजी गुप्ता लगायतले विद्यालयको शैक्षिक गतिविधि र शिक्षा क्षेत्रमा पुर्याएको योगदानबारे विचार व्यक्त गर्नुभएको थियो।
कार्यक्रम प्रदर्शनी संयोजक विश्वास पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक शिवप्रसाद सापकोटाले गर्नुभएको थियो।

भीमोदय माध्यमिक विद्यालयको ५५औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा शुक्रबार आयोजना गरिएको कालिका नगरपालिका स्तरीय नृत्य प्रतियोगिता मा सहपुर माध्यमिक विद्यालयकी अन्जना विकको टोली प्रथम हुन सफल भएको छ।
कक्षा ९ देखि १२ सम्मका विद्यार्थीबीच भएको प्रतियोगितामा भीमोदय माध्यमिक विद्यालयकी रोनिशा श्रेष्ठको टोली द्वितीय तथा माध्यमिक विद्यालय रेडक्रसग्रामकी रविना सुनारको टोली तृतीय स्थानमा रह्यो। यस्तै पृथ्वी माध्यमिक विद्यालयकी भूमिका थापामगरको टोलीले सान्त्वना स्थान प्राप्त गरेको विद्यालयले जनाएको छ।
विजेता टोलीलाई क्रमशः प्रथमलाई २,५०० रुपैयाँ, द्वितीयलाई २,००० रुपैयाँ, तृतीयलाई १,५०० रुपैयाँ तथा सान्त्वना प्राप्त टोलीलाई १,००० रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।
यसैगरी, सोही अवसरमा आयोजित निबन्ध प्रतियोगिता मा पृथ्वी माध्यमिक विद्यालयकी छात्रा सलिना अधिकारी प्रथम हुन सफल भइन्। भीमोदय माध्यमिक विद्यालयकी छात्रा आराधना कुमारी गुप्ता द्वितीय तथा सहपुर माध्यमिक विद्यालयका छात्र राजेश पौडेल तृतीय स्थानमा रहे।
माध्यमिक विद्यालय रेडक्रसग्रामकी छात्रा विमला तामाले सान्त्वना स्थान प्राप्त गरिन्। निबन्ध प्रतियोगिताका विजेतालाई क्रमशः प्रथमलाई १,५०० रुपैयाँ, द्वितीयलाई १,२०० रुपैयाँ, तृतीयलाई १,००० रुपैयाँ तथा सान्त्वना स्थान प्राप्त गर्नेले ५०० रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
वार्षिकोत्सवको अवसरमा शनिवार विहान रक्तादन कार्यक्रमसँगै विभिन्न खेलकुदका कार्यक्रम आयोजनाहुने छ । यस्तै आइतवार भने वृहत शोभायात्रा सहित अभिभावक भेला आयोजना गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल जी गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार बार्षिकोत्सव समारोहको अवसरमा आयोजनाहुने कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजनाहुने छ । कार्यक्रममा कालिका नगरपालिका प्रमुख विनोद रेग्मी प्रमुख अतिथिको रुपमा आउनुहुनेछ ।






–00—

