मेटा आयाे सम्पर्कमा, सूचीकरण प्रक्रियाका लागि विवरण माग्याे

काठमाडौं – सामाजिक सञ्जाल फेसबुकको सञ्चालक कम्पनी मेटाले संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङको सचिवालयसँग औपचारिक रूपमा सम्पर्क गरेको छ।

सूचना प्रविधि मन्त्रालयका प्रवक्ता तथा सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरस्थित कार्यालयमा कार्यरत एक कर्मचारीले मन्त्री गुरुङका स्वकीय सचिव (पीए) शालिग्राम पराजुलीलाई सम्पर्क गरेका हुन्। उक्त सम्पर्कमा कर्मचारीले नेपालमा कम्पनी दर्ता तथा सूचीकरण प्रक्रियाका लागि आवश्यक पर्ने कागजात तथा विवरणबारे जानकारी मागेका थिए।

प्रवक्ता ठाकुरले जानकारी दिँदै भने, “मन्त्रीज्यूका पीएमार्फत हामीसँग आवश्यक कागजातबारे जानकारी मागिएपछि मन्त्रालयले मेटालाई इमेलमार्फत आवश्यक विवरण पठाइसकेको छ। पाँच मिनेटभित्रै सम्बन्धित विवरण पठाइएको हो।”

मन्त्रालयले उक्त इमेल साँझ करिब ५ बजे पठाएको जनाइएको छ।

यसअघि सरकार र मेटाबीच नेपालमा कार्यालय स्थापनासम्बन्धी संवाद र छलफलहरू चलिरहेका छन्। मेटाको नेपालमा सूचीकरण तथा कानुनी दायराभित्र ल्याउने प्रक्रिया अघि बढाउने सरकारी तयारीलाई यो सम्पर्कले थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। –00–

 

Share:

सम्बन्धित समाचारहरु