मुग्लिनमा आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिबल सुरु

चितवन । आजदेखि मुग्लिन बजारमा दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुँदैछ। चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको चितवन उद्योग सङ्घ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले जानकारी दिए। उनका अनुसार महोत्सवमा ५० भन्दा बढी प्रदर्शनी कक्ष रहनेछन् भने इच्छाकामना क्षेत्रका करिब १०० जना सुन्तला उत्पादक किसानले आफ्नो उत्पादन प्रत्यक्ष रूपमा बिक्री तथा प्रवर्द्धन गर्ने अवसर पाउनेछन्। यसले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवर्द्धनमा समेत टेवा पुग्ने आयोजकको विश्वास छ।

महोत्सवमा सुन्तलाविज्ञ किसान र जनप्रतिनिधिबीच अन्तक्र्रिया कार्यक्रम, सुन्तला खाने प्रतियोगितालगायत सुन्तलाखेती गर्ने किसान लक्षित विविध कार्यक्रम समावेश गरिएका छन्। मुग्लिन बजार क्षेत्रमा आयोजना हुने महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको अध्यक्ष कँडेलले बताए।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङका अनुसार सुन्तला उत्पादनबाट यस क्षेत्रका किसानले वार्षिक ९ करोडदेखि १० करोड रुपैयाँसम्मको कारोबार गर्दै आएका छन्। यहाँ उत्पादित सुन्तला स्वादिष्ट भएकाले बजारको अभाव नरहेको उनले बताए। सुन्तलाका बगैँचा संरक्षण र नयाँ क्षेत्र विस्तारका लागि गाउँपालिकाले प्रत्येक वर्ष सुन्तलाका बिरुवा वितरण गर्दै आएको छ। सुन्तला महोत्सव तथा फुड फेस्टिबलले इच्छाकामनाका पर्यटकीय क्षेत्रहरूको समेत प्रचारप्रसार गर्न सहयोग पुग्ने अध्यक्ष गुरुङको भनाइ छ।

पुस १५ गतेसम्म सञ्चालन हुने महोत्सवको संरक्षक इच्छाकामना गाउँपालिका रहेको छ।–00–

Share:

सम्बन्धित समाचारहरु