चैत १२ काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारा भन्ने स्थानमा कांकडभिट्टाबाट काठमाडौँतर्फ गइरहेको बा ५ ख ७९४२ नम्बरको यात्रुबहाक बस आज बिहान आफै अनियन्त्रित भई सडकमा पल्टिँदा ३८ जना घाइते भएका छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
सम्पर्कमा आएका घाइते मध्ये २५ जनाको स्थानीय फिस्लिङ स्थित पोलिक्लिनिकमा उपचार भईरहेको छ । उनीहरु अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
चालक सहित ६ जनाको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । मेडिकल कलेज भरतपुरमा उपचाररत मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने चालकको अवस्था मध्यम अन्य चार जनाको अवस्था सामान्य रहेको छ ।
यस्तै पाँच जनालाई उपचारका लागि ललितपूर स्थित बी एण्ड बी अस्पताल लगिएको छ । बी एण्ड बी लगिएको मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने तीन जना मध्यम र दुई जना सामान्य रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।
बस पल्टिदा केही बेर सडक अवरुद्ध भएको थियो । क्रेनको सहायताले पल्टिएको बस सडकबाट हटाएर राजमार्ग सुचारू गरिएको प्रहरीले जनाएको छ ।