सौराहा । चितवनको सौराहामा आज शुक्रबारदेखि चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदैछ। क्षेत्रीय होटल संघ चितवनको आयोजनामा हुन लागेको महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले गर्ने कार्यक्रम छ।
सौराहासहित समग्र चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको यो महोत्सव यस वर्ष १९औँ संस्करणमा प्रवेश गरेको छ। तीन दिनसम्म चल्ने महोत्सवमा रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सह–आयोजकका रूपमा रहेका छन्। महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको संघका उपाध्यक्ष तथा महोत्सव संयोजक गुणराज थपलियाले जानकारी दिए।
महोत्सवअन्तर्गत हात्ती पेनाल्टी सुटआउट, हात्ती श्रृंगार प्रतियोगिता, हात्ती बनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्याबारे जानकारीमूलक कार्यक्रम तथा हात्ती पूजा आयोजना गरिने संघका महासचिव महेश खनालले बताए। यी गतिविधिमा सरकारी र निजी गरी करिब ८० वटा हात्ती सहभागी हुनेछन्।
यसैगरी, महोत्सवको अवसरमा पालिका स्तरीय डुङ्गा रेस प्रतियोगिता आयोजना गरिनेछ भने करिब ७० वटा हात्तीको सहभागितामा भव्य शोभायात्रा निकालिने कार्यक्रम तय गरिएको छ। साथै विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, हात्तीमैत्री प्रतियोगिता तथा सफारी पर्यटन प्रवर्द्धनका लागि अतिथि पाहुनालाई हात्ती सफारी, जीप सफारी र डुङ्गा सफारी गराउने व्यवस्था मिलाइएको छ।
सौराहामा करिब दुई दशकदेखि निरन्तर आयोजना हुँदै आएको यस महोत्सवले हरेक वर्ष २५ देखि ३० प्रतिशतसम्म पर्यटक आगमन वृद्धि गर्न सहयोग पुर्याउँदै आएको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेले बताए।
हाल सौराहामा १५० वटा होटल र ९० भन्दा बढी रेस्टुरेन्ट सञ्चालनमा रहेका छन्। सफारी पर्यटनका दृष्टिले सौराहा विदेशी पर्यटकको प्रमुख गन्तव्यस्थलका रूपमा परिचित छ। चितवनमा वार्षिक करिब तीन लाख पर्यटक आउने गरेकोमा तीमध्ये करिब ९० प्रतिशत पर्यटक सौराहा पुगेर सफारी पर्यटनमा सहभागी हुने गरेका छन्।–00–


