पोखरा । नेपालको पर्यटकीय राजधानी पोखराको लेकसाइडमा आगामी पुस १३ देखि १७ गतेसम्म २७औँ पोखरा सडक महोत्सव आयोजना हुने भएको छ।
महाेत्सवको तयारी तीब्र पारिएको छ । महाेत्सवबारे प्रचारप्रसारगर्न चितवन पुगेको आयाेजक टाेलीले भरतपुरमा पत्रकार सम्मेलन गरेर पाेखरा आउन निम्तो दिएको छ ।
रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा फेवा तालको किनार करिब साढे तीन किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन हुने रेवान पाेखराका प्रथम उपाध्यक्ष तथा सडक् महाेत्सवका संयाेजक वसन्त गाैतमले जानकारी दिए ।
“सडक मै खाऔँ, सडक मै नाचौँ, सडक मै रमाऔँ” भन्ने मूल नारासहित आयोजना हुने महोत्सवले खाना, संस्कृति र सङ्गीतमार्फत पोखरासहित समग्र नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको आयोजकको दाबी छ।
विगत २६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको पोखरा सडक महोत्सवले अंग्रेजी नयाँ वर्ष मनाउने प्रमुख गन्तव्यका रूपमा पोखरालाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ। कुनै समय नयाँ वर्ष मनाउन विदेशी गन्तव्य रोज्ने प्रवृत्ति रहे पनि अहिले पोखरा नै प्रमुख गन्तव्यका रूपमा विकास भएको आयोजकहरू बताउँछन्।
राजनीतिक अस्थिरता, २०७२ सालको भूकम्प, कोभिड–१९ महामारी तथा पछिल्लो समयका सामाजिक आन्दोलनजस्ता चुनौतीबीच पनि महोत्सवले पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सञ्जीवनीको काम गरेको जनाइएको छ। ‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देश विश्वसामु प्रवाह गर्न महोत्सव प्रभावकारी बनेको आयोजकको भनाइ छ।

महोत्सवले पोखरा तथा आसपासका क्षेत्रका कृषि उपज, हस्तकला र घरेलु उत्पादनको प्रवर्द्धन गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास लिइएको छ। साथै, विदेशी पर्यटकलाई नेपालमै क्रिसमस र नयाँ वर्ष मनाउने वातावरण सिर्जना गरी विदेशी मुद्रा आर्जनमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।

यसैबीच पोखरा महानगरपालिकाले घोषणा गरेको ‘पोखरा भ्रमण वर्ष २०२५’ लाई लक्षित गर्दै सडक महोत्सवलाई सहकार्यका रूपमा अगाडि बढाइने भएको छ। भ्रमण वर्ष २०२५ का संयोजक गोपी भट्टराईको उपस्थितिलाई पर्यटन विकासप्रतिको संस्थागत प्रतिबद्धताको प्रतीकका रूपमा लिइएको छ।

महोत्सवका मुख्य आकर्षण
• विभिन्न जातजातिका मौलिक सांस्कृतिक झाँकी र परम्परागत नृत्य
• राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारसहितको फुड फेस्टिभल
• ख्यातिप्राप्त कलाकारहरूको लाइभ कन्सर्ट र लोकदोहोरी
• फेवा तालमा बोट रेस, वेटर रेस, रस्साकस्सी लगायत खेलकुद गतिविधि
• पर्यटनसम्बन्धी टक शो, वृत्तचित्र प्रदर्शन र फोटो प्रदर्शनी
महोत्सवको प्रचार–प्रसारका लागि आयोजक टोली इटहरी, विराटनगर, जनकपुर र चितवनलगायत शहरमा पुगिसकेको छ। आम नागरिकसम्म महोत्सवको सन्देश पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको आयोजकले जनाएको छ।
महोत्सवको सहकार्यमा नेपाल पर्यटन बोर्ड रहेको छ भने सह–प्रायोजकमा बोटलर्स नेपाल (तराई) लि., दि नेपाल डिष्टिलरी प्रा. लि., यति डिष्टिलरी प्रा. लि., नेपाल टेलिकम र ZYN रहेका छन्। सिद्धार्थ बैंक बैंकिङ पार्टनर रहेको छ।
गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद आयोजक संस्थाका रूपमा रहेका छन्।–000–
