काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले पारिवारिक सदस्य तथा नातेदारलाई सचिवालयमा नियुक्ति गरेको विषयमा ‘जेनजी’ युवा अगुवाहरुले प्रधानमन्त्रीसँग भेटेर ध्यानाकर्षण गराउने भएका छन्।
द काउन्सिल अफ जेनजी (सुदन गुरुङ समूह) का सदस्यहरू आजै प्रधानमन्त्री कार्कीलाई भेटेर उक्त मुद्दासम्बन्धी औपचारिक ध्यानाकर्षण गराउन लागेका हुन्। समूहका सदस्य अनिल बानियाँले, “आज प्रधानमन्त्रीलाई भेट्न जाँदैछौँ, समय भने निश्चित भइसकेको छैन,” जानकारी दिए।
श्रेष्ठले आफ्नी पत्नी संगीता श्रेष्ठलाई सहसचिव स्तरको स्वकीय सहसचिव र नातेदार कमला श्रेष्ठलाई त्यसै तहमा नियुक्त गरेको अनलाइनखबरले सार्वजनिक गरेको थियो। दुवैजना असोज २ गते एकैदिन नियुक्त भएका थिए।
प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएको एक साताभित्रै गरिएको सो नियुक्तिमा नासु तहका पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि प्रशासन सहायकका रूपमा समावेश गरिएको स्रोतले जनाएको छ।
समाचार सार्वजनिक भएपछि प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने तथा अनुचित रूपमा गरिएका नियुक्ति खारेज गर्नुपर्ने माग जेनजी युवाहरूले उठाउँदै आएका छन्।
सुदन गुरुङ समूहले जेनजी आन्दोलनको मूल उद्देश्यबाट विचलन हुने गरी यो घटनाले गलत सन्देश दिएको टिप्पणी गरेको छ। “हामीले सुशासनको माग गरेका थियौँ, यस्तो परिणामको कल्पना गरेका थिएनौँ,” समूहका सदस्य बानियाँले भने।–00—


