युवालक्षित हाइब्रिड मकै बिउ उत्पादन तथा खेती प्रविधि तालिम सम्पन्न

– संगीता आचार्य । सेताेनेपाल
चितवन । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम, रामपुरको आयोजनामा युवालक्षित उद्यमी किसानहरूका लागि सञ्चालन गरिएको हाइब्रिड मकै बिउ उत्पादन तथा आधुनिक खेती प्रविधि सम्बन्धी सातदिने तालिम आज सम्पन्न भएको छ।

कृषि क्षेत्रमा युवाको सहभागिता र व्यावसायिकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा देशभरका २० जना युवाकिसानहरूको सहभागिता रहेको थियो। तालिम नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० मा स्वीकृत कार्यक्रमअनुसार सञ्चालन गरिएको हो।

तालिमका संयोजक तथा नार्कका वरिष्ठ वैज्ञानिक भीमनाथ अधिकारीले हाइब्रिड मकै बिउ उत्पादनमा निजी क्षेत्र र सहकारीको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो। “नेपाल कृषि अनुसन्धान परिषद् वा राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले मात्र हाइब्रिड बिउ उत्पादन गरेर देशभर पुर्‍याउन सम्भव छैन,” उहाँले भन्नुभयो। साथै तालिममा सिकेका ज्ञान र सीप सहभागीहरूले आफ्ना क्षेत्रमा व्यवहारिक रूपमा प्रयोग गर्ने विश्वास पनि व्यक्त गर्नुभयो।

हाइब्रिड मकैको उत्पादन क्षमता सामान्य जातको तुलनामा दोब्बरदेखि तेब्बरसम्म बढी हुने बताइएको छ। नेपालमा मकैको औसत उत्पादकत्व ३.५ मेट्रिक टन प्रति हेक्टर रहेकोमा हाइब्रिड मकैबाट ८ देखि १२ मेट्रिक टन प्रति हेक्टर उत्पादन लिन सकिने जानकारी दिइयो।

कार्यक्रमका प्रमुख अतिथि, बाली तथा बागबानी अनुसन्धान निर्देशनालय नार्कका निर्देशक डा. टेकप्रसाद गौतमले पशुपन्छीको दानाका लागि ठूलो परिमाणमा आयात हुने मकैलाई हाइब्रिड मकै खेती विस्तारमार्फत घटाई देशलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताउनुभयो।

तालिममा सहभागी ओखलढुङ्गाकी कृषक राधा निरौलाले माटो व्यवस्थापन, सिँचाइ, मकै रोप्ने दूरीलगायत विषयमा व्यवहारिक ज्ञान प्राप्त भएको र मकै खेतीबाटै आत्मनिर्भरता सम्भव हुने विश्वास बढेको बताउनुभयो।

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका संयोजक तीर्थराज रिजालले कृषकहरूले तालिममा सिकेका कुराहरू आफ्ना गाउँठाउँमा प्रयोग गर्ने आशा व्यक्त गर्दै, आवश्यक परेमा कृषकको खेतमै पुगेर हाइब्रिड मकै बिउ उत्पादनका लागि प्राविधिक सेवा प्रदान गरिने जानकारी दिनुभयो।

तालिमको समापन अवसरमा सहभागी २० जना कृषकलाई प्रमाणपत्र प्रदान गर्नुका साथै सिफारिस हुन लागेको मुरली जात (भीमनगर लोकल) को एक–एक किलो मकै बिउ मायाको चिनोस्वरूप वितरण गरिएको थियो। –00–

Share:

सम्बन्धित समाचारहरु