काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै ६८ जना सांसदले दायर गरेको पूरक रिटमा आज सर्वोच्च अदालतमा पेशी तोकिएको छ।
नेपाली कांग्रेसका ६५ तथा अन्य दलका तीन गरी जम्मा ६८ सांसदले पूरक रिट दायर गरेका हुन्। मङ्गलबार सर्वोच्च अदालतमा वारेसमार्फत उक्त पूरक रिट दर्ता गरिएको थियो। पूर्वसांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई हस्ताक्षरसहित वारेस दिएका थिए।
यसअघि नेपाली कांग्रेसका ८ जना सांसदले मङ्सिर २३ गते प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै रिट दायर गरेका थिए। त्यसपछि थप ६० सांसदले पनि सर्वोच्च अदालतमा पुगेर पूरक रिट दायर गरेका हुन्।
कांग्रेसबाहेक अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी तथा एक स्वतन्त्र सांसदले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्नेमा जनता समाजवादी पार्टीकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल रहेका छन्।
यसअघि नै नेकपा एमालेका ७५ सांसदले पनि प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै सर्वोच्च अदालतमा हस्ताक्षर बुझाइसकेका छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ सांसद आवश्यक पर्नेमा हालसम्म हस्ताक्षर बुझाउने सांसदको संख्या १ सय ४३ पुगेको छ।–00–


