चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वैकल्पिक राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयासमा पार्टी सक्रिय रहेको बताएका छन् । सोही प्रयासअन्तर्गत हालै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग भेटवार्ता भएको उनले स्पष्ट पारेका छन् ।
आफ्नो मुद्दाको तारेखका लागि चितवन जिल्ला अदालत पुगेका लामिछानेले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै पछिल्ला राजनीतिक भेटघाटबारे जानकारी गराए । बालेनलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने विषयमा सहमति भइसकेको हो कि भन्ने प्रश्नमा उनले त्यसबारे अहिले नै कुनै निर्णयको चरणमा नपुगेको बताए ।
“हामी अझै त्यो चरणमा प्रवेश गरेका छैनौँ,” लामिछानेले भने, “पहिले त एक–अर्कालाई बुझ्नुपर्छ, कुराकानी हुनुपर्छ । के अवस्था छ, कहाँ के सम्भावना छन् भन्ने बुझ्ने चरणमै छौँ । हतार गर्नुपर्ने अवस्था छैन ।”
बालेनसँगको भेटलाई लिएर विभिन्न अड्कल र व्याख्या भइरहेकामा संकेत गर्दै लामिछानेले दुई जनाबीच भएको कुराकानीलाई आफ्नो इच्छाअनुसार नलेख्न सञ्चारकर्मीलाई आग्रह गरे ।
उनका अनुसार रास्वपा बालेनसँग मात्र नभई अन्य वैकल्पिक व्यक्तित्व र समूहहरूसँग पनि संवादमा छ । “सुधन गुरुङजीसँग कुराकानी भएको छ । कुलमानजीसँग पनि कुरा गर्नेछौँ,” उनले भने, “वैकल्पिक शक्तिहरूलाई एउटै धारमा ल्याउन रास्वपा सक्रिय रूपमा लागिरहेको छ ।”
लामिछानेको भनाइले आगामी दिनमा नयाँ प्रकारको राजनीतिक सहकार्य र सम्भावित गठबन्धनको संकेत गरे पनि सबै प्रक्रिया छलफल र समझदारीकै चरणमा रहेको भन्दै कुनै निष्कर्षमा पुग्न समय लाग्ने उनले स्पष्ट पारे ।


