काठमाण्डौं, ८ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लगानीको वातावरण बनाउन राजनीतिक स्थायित्व, नीतिगत स्पष्टता र विश्वासको आवश्यकता अपरिहार्य रहेको बताएकी छिन्।
‘राइजिङ नेपाल समिट’लाई सम्बोधन गर्दै उनले वर्तमान आर्थिक अवस्थाका चुनौती र अवसरबारे धारणा राख्दै भनिन्, “चुलिँदो व्यापार घाटा देशको विकासका लागि प्रमुख बाधक बन्दै गएको छ। हामी स्वदेशी उत्पादन र उत्पादकत्वमा ध्यान दिन नसक्दा दैनिक उपभोग्य वस्तु आयात गर्न विदेशी मुद्रा खर्च गर्न बाध्य छौं।”
पूर्वराष्ट्रपतिले समृद्धिको मार्ग जनउत्तरदायी हुनुपर्नेमा जोड दिँदै भनिन्, “नीतिगत स्पष्टता, विधिको शासन, पारदर्शी प्रशासन यी सबै आवश्यक छन्, र त्यसको आधार बनाउने जिम्मेवारी राजनीतिक नेतृत्वको काँधमा छ। समृद्धि मुठ्ठीभर मानिसका लागि मात्रै होइन, आम जनताको लागि हुनुपर्छ।”
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि नेपालले महत्त्वपूर्ण चरण पार गरिसकेको उल्लेख गर्दै अब आर्थिक समृद्धिको अभियानलाई सफल बनाउने दिशामा अघि बढ्नुपर्ने उनको भनाइ थियो।
उनले राजनीतिक दलहरूलाई सामाजिक–आर्थिक विकासका लागि सहकार्यमा आधारित नीति निर्माणमा अग्रसर हुन आग्रह गरिन्। “राजनीतिक स्थायित्व, सामाजिक न्याय र समानताको आधारमा समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्नु आजको आवश्यकता हो,” उनले स्पष्ट पारिन्।


