रत्ननगर । पूर्वी चितवनको रत्ननगरस्थित गामवेसी चेपाङ संरक्षण केन्द्रलाई रोयल राइनो राइडर्स एमसी चितवनले नगद तथा खाद्यान्न सहयोग प्रदान गरेको छ।
शनिबार केन्द्रमा आयोजित कार्यक्रममा राइडर्स क्लबले नगद ५० हजार रुपैयाँसहित विभिन्न खाद्यान्न सामग्री केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई हस्तान्तरण गरेको हो। सहयोग हस्तान्तरण राइडर्सका अध्यक्ष प्रितम श्रेष्ठको नेतृत्वमा गरिएको थियो।
कार्यक्रममा बोल्दै क्लबका सदस्य डा. शशांक कुमार सिंहले एक व्यक्तिको निरन्तर प्रयासबाट चेपाङ संरक्षण केन्द्र स्थापना भई प्रभावकारी रूपमा सञ्चालन भइरहेको उल्लेख गर्दै अध्यक्ष शर्माको प्रशंसा गरे। उनले आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे।
केन्द्रका अध्यक्ष केपी किरण शर्माले सहयोगप्रति रोयल राइनो राइडर्सलाई धन्यवाद दिँदै प्रशंसा पत्र प्रदान गरे। उनले आफूले सुरु गरेको सामाजिक अभियान सबैको सहयोगले सफल बन्दै गएको बताए। साथै, केन्द्रमा आश्रित विद्यार्थीहरू हाल इन्जिनियर तथा स्वास्थ्यकर्मी बनेर देशको सेवा गरिरहेको जानकारी दिए। हाल केन्द्रमा १५० जना चेपाङ विद्यार्थी आश्रित रहेको उनले बताए।
कार्यक्रममा राइडर्स क्लबका अध्यक्ष प्रितम श्रेष्ठले क्लबले एक दशकभन्दा बढी समयदेखि विभिन्न सामाजिक कार्य गर्दै आएको बताए। उनले विदेशमा रहेका क्लबका सदस्यहरू गोकर्ण महतो, विमल पुन, आकाश गुरुङ, साजन केसी, मन्जिल गुरुङ, रीम गुरुङ, होम थापा, विनोद विक, सुहेल मगर, शैलेश बा. थापा र यस कुमार विश्वकर्मालगायतको सहयोगबाट चेपाङ संरक्षण केन्द्रलाई सहयोग गरिएको जानकारी दिए।
कार्यक्रममा क्लबका सदस्यहरू डा. प्रतिमा घिमिरे सिंह, आशिष गुरुङ, गिरीश नहर्की, यस कुमार विश्वकर्मा, दिलीप बम्जन, दीक्षित पौडेल, सञ्जय लोप्चन, हेमन्त श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।




–00—


