चितवन, ६ भदौ। भरतपुर महानगरपालिका–१५ स्थित मंगलपुरमा आगामी तीजको अवसरमा खुला तीजगीत तथा नृत्य प्रतियोगिता हुने भएको छ। मंगलपुर हाटबजार, मंगलपुर बजार र गणेश युवा क्लबको संयुक्त आयोजनामा हुने यो कार्यक्रम सातौँ पटक हो।
प्रतियोगितामा कुनै पनि भूगोल, समुदाय वा समूहका सहभागीले भाग लिन सक्नेछन्। आयोजक मंगलपुर हाटबजार व्यवस्थापन समितिका अध्यक्ष रमेश श्रेष्ठका अनुसार प्रतियोगितामा कुनै निश्चित विषय तोकिएको छैन। उनले भने, “कलाकार वा चेलीहरूलाई सीमामा बाँध्नुहुँदैन भनेर विषय नराखिएको हो। तर कसैलाई घोचपेच गर्ने वा गालीगलौज गर्ने भने पाइने छैन।”
प्रतियोगितामा प्रथम हुने समूहलाई ३५ हजार, द्वितीयलाई २५ हजार, तृतीयलाई १५ हजार र सान्त्वनालाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा राष्ट्रिय कलाकार प्रकाश पराजुली र उमादेवी खनालको प्रस्तुति रहनेछ। यस वर्षको प्रतियोगितामा २० समूहले प्रस्तुति दिने तयारी छ भने केही समूहले नाम दर्ता गराइसकेका छन्।
आयोजक समितिका सदस्य सीतादेवी श्रेष्ठका अनुसार हिन्दु महिलाहरूको महान पर्व तीजको अवसरमा चेलीबहिनीहरूलाई एकै ठाउँमा भेला गराई मनोरञ्जनसहित मनभित्रका कुण्ठा र पीडा गीतमार्फत व्यक्त गर्ने अवसर दिनु नै प्रतियोगिताको मुख्य उद्देश्य हो। –00–


