– रेशम सापकोटा
माडी — माडी प्रज्ञा प्रतिष्ठान र माडी नगरपालिकाको संयुक्त आयोजनामा माडीभित्रका मौलिक कला, संस्कार, संस्कृति, धार्मिक सम्पदा तथा मेला–पर्वहरूको संरक्षण, प्रवर्द्धन र सूचीकरण विषयमा आज माडी नगरपालिकाको सभाहालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख ताराकुमारी काजी महतो रहनुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, वडा नं. २ का अध्यक्ष तथा नगर प्रवक्ता दण्डपानी पौडेल, वडा नं. ५ का अध्यक्ष गणेश प्रसाद विश्वकर्मा, वडा नं. ७ की अध्यक्ष चन्द्रकुमारी बानिया, कार्यपालिका सदस्यहरू, आदिवासी–जनजाति समुदायका प्रतिनिधिहरू, विद्यालयका प्रअ तथा शिक्षक, धार्मिक संस्थानका अध्यक्ष तथा प्रतिनिधिहरू, वैदिक सनातन सांस्कृतिक सम्पदासन माडीका अध्यक्ष मथुरा वहादुर भण्डारी, नगर कर्मचारी तथा प्रज्ञा प्रतिष्ठानका प्रतिनिधिहरूको उपस्थिती थियो। साथै माडीका विभिन्न होमस्टेका प्रतिनिधिहरू पनि सहभागी भएका थिए।

कार्यक्रमको अध्यक्षता गर्दै प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद सापकोटाले माडीको भाषा, कला–संस्कृति, परम्परा र धार्मिक मूल्य जोगाउन सके मात्र समाजलाई सही दिशा दिन सकिने बताउँदै संरक्षण, सूचीकरण र प्रवर्द्धनलाई प्राथमिकताका साथ अघि बढाउने धारणा राख्नुभयो।
नगरप्रमुख महतोले माडी बहुसांस्कृतिक क्षेत्र भएकाले स्थानीय संस्कार, धार्मिक स्थल र सम्पदाको व्यवस्थित संरक्षणले पर्यटन विकासमा योगदान पुग्ने बताउनुभयो। नगरपालिकाले प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्दै यी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत भुसालले माडीभित्रका धार्मिक स्थल, जातीय संस्कार, कला–संस्कृति, मेला–पर्व तथा परम्पराको अभिलेखीकरण नगरे इतिहास हराउन सक्ने भएकाले नगरपालिकाले संरचना, बजेट र प्रक्रियागत सुविधा मार्फत संरक्षणमा सक्रियता देखाउने स्पष्ट पार्नुभयो।
अन्तरक्रियामा विभिन्न जातजातिका प्रतिनिधिहरूले जन्मदेखि मृत्युसम्मका संस्कार, देवी–देवताका पूजा विधि, पर्व–उत्सव, भाका–नाच–गीत, परम्परागत पहिरन, र संरक्षण आवश्यक धार्मिक–ऐतिहासिक स्थलको विवरण प्रस्तुत गरे। सहभागीहरूले लोप हुँदै गएका मौलिक परम्पराहरूको अभिलेखीकरण र प्रवर्द्धनमा नगरस्तरीय अभियान आवश्यक रहेको बताएका थिए।
कार्यक्रममा Engineer प्रविन काफ्लेले माडी क्षेत्रमा रहेका धार्मिक स्थल, पर्यटकीय क्षेत्र र होमस्टेहरूको जानकारी सजिलै पत्ता लगाउन सकिने एक्सप्लोर सम्बन्धी एपको बारेमा जानकारी दिनुभयो। उनले एपमा यहाँका स्थलहरू कहाँबाट कति दूरीमा छन् भन्ने स्पष्ट विवरण उपलब्ध छ र उपयोगकर्ताले धार्मिक स्थल वा होमस्टे बुकिङ गर्न पनि सजिलो हुनेछ। साथै एपमा विभिन्न भाषामा जानकारी हेर्न सकिने व्यवस्था मिलाइएको छ।
कार्यक्रममा उठेका विषयलाई प्रज्ञा प्रतिष्ठानले टिपोट गरी सूचीकरण, संरक्षण र प्रवर्द्धनका लागि कार्ययोजना तयार गर्ने जानकारी दिइएको छ। नगरपालिकासँगको सहकार्यले माडीलाई दीर्घकालीन रूपमा सांस्कृतिक, धार्मिक र पर्यटनको केन्द्रको रूपमा परिचित गराउने लक्ष्य राखिएको छ। —000–

