होली भिजन पब्लिक स्कुलको ३५औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

  • रेशम सापकोटा

भरतपुर । भरतपुर–४, यज्ञपुरीस्थित होली भिजन पब्लिक स्कुलको ३५औँ वार्षिक उत्सव तथा अभिभावक दिवस आज विद्यालय परिसरमा भव्य, सभ्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) का केन्द्रीय सदस्य एवं मिलन इङ्लिस स्कुलका प्राचार्य कृतिनिधि अर्यालको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेगनाथ गैरेको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष अर्पण पोखरेल, वडा नं. ५ का वडा अध्यक्ष युद्धप्रसाद श्रेष्ठ, प्याप्सन चितवनका अध्यक्ष तथा स्काई राइडर इङ्लिस स्कुलका प्राचार्य मदनपुरी, भरतपुर महानगरपालिका शैक्षिक महाशाखाका अधिकृत ऋषिराम शर्मा, मेट्रो प्याप्सनका प्रमुख सल्लाहकार तथा होलीभिजनका पूर्व अध्यक्ष लेखनाथ खनाललगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। त्यसैगरी प्याप्सन चितवनकी उपाध्यक्ष शारदा ढकाल, शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमकुमार गैरे, प्याप्सन चितवनका सचिव दयानिधि अर्याल, बेसका अध्यक्ष शिवबहादुर क्षेत्री, नारायणी पब्लिक स्कुलका प्राचार्य वेदराज न्यौपाने, बाल्मीकि शिक्षा सदनका प्राचार्य प्रदीप पौडेल, नेपाल रेडक्रस सोसाइटी उपशाखा लङ्खुका अध्यक्ष बद्रीप्रसाद पोखरेल, सामाजिक अभियन्ता यमलाल भण्डारीलगायतको सहभागिता रहेको थियो।

शिक्षक नारायण सापकोटाले सञ्चालन गरेको कार्यक्रममा प्रा.वि. तह प्रमुख गोपाल कँडेलले स्वागत मन्तव्य राख्नुभएको थियो। प्रमुख अतिथि अर्यालले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो। नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूले गीत, नृत्य, सांस्कृतिक झाँकी, स्काउट मार्च पास तथा चेतनामूलक नाटक प्रस्तुत गरेका थिए। विशेषगरी “मोबाइल देखाएर खाना खुवाउने” प्रवृत्तिविरुद्ध प्रस्तुत नाटकले अभिभावकहरूलाई गम्भीर सन्देश दिएको थियो।

विद्यालयका प्राचार्य मिनराज बस्ताकोटीले शैक्षिक सत्र २०८२ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका उपलब्धि, अतिरिक्त क्रियाकलाप तथा आगामी योजनाबारे जानकारी गराउनुभयो। कार्यक्रममा शैक्षिक सत्र २०८१ का उत्कृष्ट विद्यार्थीहरूलाई “उत्कृष्टता पुरस्कार” प्रदान गरिएको थियो। “दीर्घ सेवा सम्मान” अन्तर्गत शिक्षिका कौशिला सापकोटा र शिक्षक बेगनाथ गैरे लाई सम्मान गरिएको थियो भने आशा थापा लाई उत्कृष्ट शिक्षकको रूपमा सम्मान प्रदान गरिएको थियो। जादुगर बलराम सरकारको प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण बनेको थियो।

उहाँको प्रस्तुतीले विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई मनोरञ्जन प्रदान गरेको थियो। साथै विद्यालय परिसरमा विद्यार्थीहरूले तयार पारेका सिर्जनात्मक कलाकृतिको प्रदर्शनीसमेत आयोजना गरिएको थियो, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयको शैक्षिक गुणस्तर, अनुशासन तथा सामाजिक उत्तरदायित्वप्रति प्रशंसा व्यक्त गरेका थिए। साथै समाजमा अझै केही क्षेत्रमा विद्यमान छाउगोठ प्रथाको अन्त्य गर्नुपर्ने सन्देश प्रवाह गर्ने उद्देश्यले विद्यालय परिसरमै चेतनामूलक छाउगोठ घरसमेत निर्माण गरिएको थियो। शैक्षिक उत्कृष्टता, सांस्कृतिक विविधता र सामाजिक सचेतनालाई समेट्दै सम्पन्न उक्त कार्यक्रमले अभिभावक र विद्यार्थीबीच थप आत्मीयता अभिवृद्धि गरेको विद्यालयले जनाएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु