काठमाण्डौं, ३१ जेठ । नेपालले यही वर्षा याममा तेस्रो बंगलादेशमा विद्युत् निर्यात गर्ने तयारी गरेको छ। सोही अनुसार नेपालले भारत र बंगलादेशसँग त्रिपक्षीय सम्झौताका लागि तयारी गरिरहेको छ।
नेपालमा मनसुनको समय सुरु हुँदै छ। वर्षायाममा नेपालको विद्युत उत्पादन २ हजार ६ सय ६७ मेगावाटसम्म पुग्ने गर्छ। नेपालको माग चाहिँ योभन्दा निकै कम भएकाले नेपालले यसै बर्खामा निर्यातको चाहना राखेको हो। गत दुई वर्षमा पनि नेपालले भारतमा बिजुली निर्यात गरेको थियो। तर, अहिलेसम्म ४ सय ५० सय मेगावाटसम्म मात्रै भारत निर्यात भएको छ। यसपालि त्यसको दोब्बर निर्यात गर्ने र बंगलादेशसँग विद्युत व्यापार सुरुवात गर्ने योजना छ।
तर त्यसको लागि छोटो समयमै नेपालले थप सहमतिहरु गर्न आवश्यक छ। उर्जा मन्त्रालयका अनुसार नेपाल र भारतबीच थप सम्झौता हुन बाँकी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने प्रारम्भिक सम्झौता भएको छ।
त्यसलाई पूर्णता दिन भारतसँग दुई देशीय बैठकको तयारीमा नेपाल जुटेको छ। नेपालले वर्षामा थप बिजुली निर्यात गर्न मिल्नेगरी भारतसँग सम्झौताको प्रयास गरिरहेको छ। प्रधानमन्त्रीको भारत भ्रमणको सहमतिलाई टुङ्गोमा पुर्याउने गरी बैठक बस्न नसके पनि थप सम्झौता भने गर्नै पर्ने हुन्छ।
त्यसबाहेक बंगलादेशसम्म विद्युत् निर्यात गर्न नेपालले भारत र बंगलादेशसँग अर्को त्रिपक्षीय सम्झौता गर्नुपर्ने हुन्छ। यही जेठको सुरुमा बंगलादेशमा भएको नेपाल–बंगलादेश उर्जा बैठकमा बंगलादेशले नेपालको ४० मेगावाट विद्युत् खरिद गर्न सहमति जनाएको थियो। उसले थप विद्युत् समेत खपत गर्ने इच्छा व्यक्त गरिसकेको छ।
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उर्जा महाशाखा प्रमुख मधु भेटवाल भन्छन्, ‘सम्भव कति हुन्छ, त्यो चाहिँ थाहा छैन। तर हामी यो सिजनमा नै बिजुली बंगलादेश निर्यातको तयारी भने गरिरहेका छौँ। त्यसमा हाम्रो ठूलो आशा छ।’ प्रधानमन्त्रीको भारत भ्रमणमा बंगलादेशमा दीर्घकालीन विद्युत् निर्यातका लागि डेडिकेटेड लाइन विस्तारबारे छलफल गराउने लक्ष्य उर्जा मन्त्रालयले राखेको थियो। तर उक्त छलफल भने हुन सकेन।
तैपनि त्यसले बंगलादेशसँगको निर्यातमा कुनै असर नगर्ने नेपाल विद्युत् प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन्।
उनी भन्छन्, ‘बंगलादेशसँगको विद्युत व्यापारमा डेडिकेटेड लाइन मात्रै समाधान होइन। भारतले दिल्लीको युटिलिटिले आसामको हाइड्रो पावर किन्छ। त्यसमा पनि ट्रान्सिमिसन लाइनको शुल्क तिर्छ। कस्तो लाइन भन्ने मुख्य विषय हुँदैन। विद्युत बजार भनेको क्रस बोर्डर लाइन नै हो। नेपालको भारतसँग र भारतको बंगलादेशको क्रस बोर्डर लाइन पनि छ। त्यसैबाट निर्यात गर्न सकिन्छ।’–00–


