विजय चौधरी/चितवन, मंसिर २४
पूर्वी चितवनको खैरहनीमा पौष २९ गतेदेखि माघ ९ गते सम्म आठौं खिचरा महोत्सव हुँदैछ । कोरोनाको महामारीका कारण लगातार दुईवर्ष रोकिएको महोत्सव यसवर्षदेखि फेरि आयोजना हुन लागेको हो ।
शनिवार खैरहनी ५ स्थित थारु संग्राहलयमा पत्रकार सम्मेलन गरेर महोत्सव आयोजना हुन लागेको जानकारी दिएको हो । माघ १ गतेलाई थारुहरुले नयाँ वर्षको रुपमा मनाउँछन् । खिचरा पर्वलाई महोत्सवको रुपमा मनाउन थालिएको यो आठौं पटक हो ।
खैरहनी नगरपालिकाको वडा न. ५ स्थित गौचरनमा आयोजना हुने महोत्सवको तयारीलाई तीब्र पारिएको आज आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । थारुहरुको खाना, भेषभुषासँगै कलासंस्कृतिलाई जोड दिँदै आएको महोत्सव थारुहरुको छातासंस्था थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ ले आयोजना गर्दै आएको छ ।
केही व्यवसायिक स्टल सहित बालउद्यान, होटल तथा रेष्टुरेन्टगरी महोत्सवमा १ सय २० वटा स्टल रहने महोत्सव मूल आयोजक समिति संयोजक कृष्णलाल चौधरीले जानकारी दिनुभयो । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारसँगै दैनिक साँंस्कृतिक कार्यक्रमहुने खिचरा महोत्सवका संस्थापक संयोजक नारायण महतोले जानकारी दिनुभयो । यो वर्ष ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव प्रवेश शुल्क ५० रुपैयाँ राखिएको छ ।
आदिवासी, जनजाती समुदायको भेषभुषामा महोत्सव अवलोकन गर्न आए विना टिकट, भिआइपी पासमा निशुल्क प्रवेशगर्न दिने व्यवस्था गरिएको थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ का अध्यक्ष चुडामणी चौधरीले बताउनुभयो । महोत्सव सम्पन्नगर्न १ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । यस्तै ३२ वटा विभिन्न विषयगत समिति रहेका छन् ।
२०७० सालमा खैरहनीको सुल्ताना स्थित विद्यालयको चौरवाट खिचरा महोत्सव सुरुभएको थियो । यो प्रकृतिको महोत्सव जिल्लामै पहिलो र एकमात्रै रहेको आयोजकको दावी छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ का सभापति चुडामणी चौधरीको अध्यक्षतामा आयोजना गरिएको पत्रकार सम्मेलनमा थारु कल्याणकारिणी सभाका जिल्ला सभापति ललितकुमार चौधरी, थारु वडाअध्यक्षहरु, विभिन्न विषयगत समितिका संयोजक तथा थारु अगुवाहरुको उपस्थिती थियो ।
((००))