कार्यक्रमको तयारी अन्तिम चरणमा, २८ गते शोभा यात्रा गरिने

बौद्ध पाठशाला निर्माणका लागि साङगे छ्योइलिङ गुम्बामा पहिलो ठूलो धार्मिक कार्यक्रम आयोजनाहुँदै

चितवन, मंसिर २८ —

चितवन । रत्ननगरको वडा नं. १२ जिरौना स्थित साङगे छ्याईलिङ गुम्बामा पाँचदिने त्रिपिटक (ह्युम) प्रज्ञापारमिता पाठ एवम लामा गुरुहरुबाट पुजापाठ सहितको वृहत धार्मिक कार्यक्रम आयोजनाहुने भएको छ ।

बौद्ध पाठशाला तथा भौतिक पूर्वाधार निर्माणका लागि पाँचदिने त्रिपिटक (ह्युम) प्रज्ञापारमिता पाठ, लामा गुरुबाट पूजापाठ र दैनिक प्रवचनसहितको विशेष धार्मिक कार्यक्रम आयोजना हुने लागेको हो । गुम्बामा पहिलोपटक आयोजना हुन लागेको यो कार्यक्रम मंसिर २८ गतेदेखि पौष ३ गतेसम्म सञ्चालन हुनेछ।

गुम्बाले आज आयोजना गरेको पत्रकार सम्मेलनमार्फत कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। कार्यक्रम संयोजक तथा रत्ननगर–१२ का संस्थापक वडाध्यक्ष वीरबहादुर पाख्रिनका अनुसार गुम्बा व्यवस्थापन समितिसँग पाठशाला निर्माणका लागि आवश्यक आर्थिक स्रोत अभाव रहेकोले सहयोग संकलनका उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

उनले भने, “कति आर्थिक संकलन हुन्छ भन्ने अनुमान गर्न सकिँदैन। तर अमेरिका, अष्ट्रेलिया, जापानलगायत स्थानमा रहेकाबाट प्रति व्यक्ति १ लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्म सहयोग प्राप्त हुने आशा छ। हामी सहयोगी दाताहरुको खोजीमै छौँ।”

पाख्रिनका अनुसार नयाँ पुस्तालाई धर्म, संस्कृति र रीतिरिवाजबारे जानकारी गराउन बौद्ध पाठशाला अत्यावश्यक रहेको ले यो कार्यक्रमगर्न लागिएको हो ।  मंसिर २८ गते विहान ९ बजे विविध जातजातीको झाँकीसहित शोभायात्रा निकालिनेछ। पत्रकार सम्मेलनमा पाख्रिनले गुम्बा सजावटदेखि पत्र–पत्राचारसम्मका तयारी तीव्रगतिमा भइरहेको जानकारी दिए।

बौद्ध गुरुहरूको प्रवचन  सबैलाई बुझिनेगरी उल्था (व्याख्या) गरिने पाख्रिनले स्पष्ट पारे। उनले भने, “गुरुहरूको पाठ बुझिन्न कि भन्ने चिन्ता लिनु पर्दैन।  सबैले बुझ्ने भाषामा गुरुले व्याख्या गर्नुहुन्छ।”

कार्यक्रम अन्तर्गत पौष ३ गते परम पुजनीय गुरु स्याल्पा तेन्जिङ रिम्पोछेज्यूको बाहुलीबाट ‘आयु अभिषेक’ (छेवाङ) प्रदान गरिनेछ। खेन्पो श्री वागेन्द्रशिल तिमल्सिना, लोपेन पेमा मोक्तान तथा लोपन रिन्छेन दोर्जे गुरुङले दैनिक प्रवचन दिनेछन्।

रत्ननगर–१२ का वडाध्यक्ष सुन्दरमणी सुवेदीले पवित्र उद्देश्यका साथ सुरु हुन लागेको कार्यक्रममा तन, मन, धनले सहयोग गर्न आग्रह गरे। उनले भने, “यो गुम्बा हाम्रो साझा सम्पत्ति हो। यसको संरक्षण र प्रवर्द्धन गर्नु सबैको जिम्मेवारी हो।”

पत्रकार सम्मेलनमा बौद्ध धर्मगुरु पेमा छ्योईफेल, स्थानीय टोल विकास संस्थाहरुको तर्फबाट भिष्मराज पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम साङ्गे छ्योइलिङ गुम्बा व्यवस्थापन समितिकी अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो। –00—

Share:

सम्बन्धित समाचारहरु