चितवन । चितवन राष्ट्रिय निकुञ्जले बस्तीमा पसेर लगातार क्षति पुर्याउँदै आएको एक गैँडालाई स्थानान्तरण गरेको छ। भरतपुर महानगरपालिका–२३, घैलाघारीस्थित अन्नपूर्ण फार्म हाउसमा प्रवेश गरेको उक्त गैँडालाई शुक्रबार डार्ट गरी सौराहास्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा लगिएको हो।
निकुञ्जका प्रमुख डा. गणेश पन्तका अनुसार गैँडा दिनहुँ बस्तीमा छिर्ने गरेको र स्थानीयको अन्नबालीमा ठूलो क्षति पु–याउँदै आएकोले स्थानान्तरण आवश्यक भएको थियो। गैँडाले निरन्तर त्रास फैलाएपछि स्थानीयले फार्म हाउसभित्र थुनेर राखेका थिए। स्थानान्तरणको माग गर्दै केरुङ्गा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको कार्यालयसमेत स्थानीयले घेराउ गरेका थिए।
भरतपुर–२३ का वडाध्यक्ष दीपक दुवाडीका अनुसार गैँडाले अन्नबालीमा ठूलो क्षति पुर्याउने मात्र होइन, दिनदहाडै बस्ती छिर्न थालेपछि जनतामा थप डर पैदा भएको थियो। शुक्रबार गैँडा बस्ती छिरेपछि नजिकैको विद्यालय समेत बन्द गर्नुपरेको थियो।
जगतपुर क्षेत्रमा गैँडा बस्ती प्रवेश नियमितजस्तै भएको र किसानका अन्नबालीमा ठूलो नोक्सानी हुने गरेको टोल विकास समितिका अध्यक्ष सोमबहादुर आचार्यले बताए। उनका अनुसार घैलाघारी क्षेत्रमा ५ सयभन्दा बढी किसान प्रभावित छन्। ‘वन्यजन्तुले क्षति गरे पनि राहत न्यून मात्र पाइन्छ, धेरै किसान त क्षतिपूर्ति माग्नसमेत जाँदैनन्,’ उनले भने। गैँडा धान, तोरी, गहुँ लगायतका अन्नबाली खान बस्ती छिर्ने गरेको उनको भनाइ छ।
विगतमा तारबार नहुँदा समस्या झनै बढेको र पछिल्लो समय गैँडा बस्ती प्रवेशका घटना बढेर आएको स्थानीयले बताउँदै आएका छन्। –00—


