काठमाडौं । चितवनको माडी–ठोरी सडकखण्डअन्तर्गत पटारी खोलामा वर्षौंदेखि अलपत्र रहेको पुल निर्माणको ठेक्का सरकारले तोडेको छ। हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय वीरगञ्जले सोमबार सार्वजनिक सूचना जारी गर्दै ठेक्का रद्द गरिएको जनाएको हो।
४१ मिटर लम्बाइको पुल निर्माणको जिम्मा लोहनी एण्ड ब्रदर्श प्रालि, भरतपुरलाई दिइएको थियो। तर, लामो समयसम्म काम अलपत्र राख्दै कम्पनीका प्रतिनिधि समेत सम्पर्कमा नआएपछि ठेक्का तोडिएको निर्देशनालयले स्पष्ट गरेको छ।
निर्देशनालयद्वारा जारी सूचनाअनुसार निर्माण व्यवसायीलाई ‘किन ठेक्का नतोड्ने’ भन्ने विषयमा १५ दिनभित्र स्पष्टीकरण बुझाउन आग्रह गरिएको थियो। तर स्पष्टीकरण नदिएको, काम सुरुै नगरेको र कम्पनीका प्रतिनिधि सम्पर्कविहीन बनेपछि ठेक्का रद्द गरिएको हो।
ठेक्का तोडिएसँगै सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९(८) बमोजिम कार्य सम्पादन जमानत जफत गर्ने, बाँकी काम पूरा गर्न आवश्यक रकम सरकारी बाँकीसरह असुल उपर गर्ने र कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिने निर्देशनालयले जनाएको छ।
साथै, हालसम्मको अद्यावधिक काम, बाँकी कामको नापजाँच तथा मूल्यांकन गरी वित्तीय फरफारकका लागि १५ दिनभित्र उपस्थित हुन पनि सूचना मार्फत भनिएको छ। यदि कम्पनी वा प्रतिनिधि उपस्थित नभएमा कार्यालयले नै नापजाँच गर्ने चेतावनी दिएको छ।
यसअघि झापाको १४ वर्षदेखि अलपत्र कन्काई पुल निर्माणको ठेक्का पनि सरकारले रद्द गरेको थियो।



