काठमाडौँ — रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा एक महिलाको शव घरभित्रै गाडिएको अवस्थामा फेला परेको छ। सोमबार रातिको घटनापछि परिवारका सबै सदस्य फरार छन्। प्रहरीले यसलाई हत्या भएको आशंकामा गम्भीर रूपमा अनुसन्धान अगाडि बढाएको छ।
मृतक २२ वर्षीया तरिमा खातुनको घाँटी र टाउको पछाडि धारिलो हतियार प्रहार गरी हत्या गरिएको र दाहिने खुट्टामा नीलडाम समेत भेटिएको प्रहरीले जनाएको छ। हत्या पश्चात् उनको शव घरकै भुस राख्ने गोठभित्र गाडिएको अवस्थामा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिन कार्कीका अनुसार मृतकका ससुरा शेष अली महम्मदसहित घरका सबै सदस्य हाल फरार छन्।
“फरार रहेका व्यक्तिहरुको खोजी भइरहेको छ। उनीहरू पक्राउ परेपछि घटनाको वास्तविकता खुल्नेछ,” एसपी कार्कीले बताए।
मृतकका श्रीमान् शेख आदिल घटना हुनुअघि कार्तिक १८ गते वैदेशिक रोजगारीका लागि साउदी अरब गएका थिए। त्यही दिन गुजरा नगरपालिका–७ पल्टुवा माइतीघरमा भतिजा शेष गूडुसँगै बसेको अवस्थामा तरिमा खातुनलाई छिमेकीले समातेपछि इलाका प्रहरी चन्द्रनिगाहपुरमा बुझाइएको थियो। त्यसपछि ससुराले प्रहरी कार्यालयबाट दुवैलाई घर लगेका थिए। करीब २० दिनपछि भने खातुनको हत्या भएको पुष्टि भएको छ।
यता मृतक तरिमाका डेढ वर्षका छोरा मोहम्मद आरिफ पनि घटनापछि घरमा भेटिएका छैनन्। प्रहरीले उनको खोजीसमेत सुरु गरेको जनाएको छ। –00–


