कालिका ।चितवनको कालिका नगरपालिकास्थित सिद्धि–कल्याणचौर भित्री सडकखण्डमा गएराति बलेरो जीप दुर्घटना भएर चालकको मृत्यु भएको छ।
मंसिर ६ गते राति करिब १०ः३० बजे सिद्धिबाट कल्याणचौरतर्फ जाँदै गरेको बा १८ च ८९७३ नम्बरको बलेरो अचानक अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनाको सूचना राति १०ः५० बजे प्रहरी चौकी जुटपानीमा पुगेपछि प्र.नि. जय नेपाल थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
दुर्घटनामा चालक, खैरहनी–४का ६२/६३ वर्षका राममणी न्यौपाने गम्भीर घाइते भएका थिए। उपचारका लागि तत्काल भरतपुर पठाइए पनि मंसिर ७ गते राति ००ः१५ बजे भरतपुर सरकारी अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिए।
प्रहरीका अनुसार जीपमा चालकबाहेक अरू कोही सवार थिएनन्। दुर्घटनाग्रस्त सवारी साधन हाल पनि घटनास्थलमै रहेको र घटनास्थल जुटपानी प्रहरी चौकीबाट करिब २० किलोमिटर उत्तर पर्छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।–00–


