भरतपुर,२७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले आफ्नै कार्यालय, भरतपुर–११ नौरङ्गेमा अन्तरक्रिया कार्यक्रम गर्दै २६औँ स्थापना दिवस मनाएको छ।
संस्थाको सुरुदेखि नै आदिवासी जनजातिका साझा मुद्धा उठाउँदै आएको फोनिजलाई समय र परिस्थितिअनुसार अझ सक्रिय बनाउनुपर्नेमा वक्ताहरुले जोड दिएका छन्।
कार्यक्रममा फोनिज चितवनका संस्थापक सचिव तथा सञ्चार उद्यमी राजु चौधरीले फोनिजको सक्रियताकै कारण धेरै आदिवासी जनजातिका मुद्धा सार्वजनिक रूपमा आउन थालेको बताए। धर्म, कला, संस्कृति, भाषा र भेषभूषा जस्ता विषयबारे जनचेतना बढाउन फोनिजले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।
नेपाल आदिवासी जनजाति युवा महासंघ चितवनका अध्यक्ष दीपक प्रजाले फोनिजले आदिवासी जनजातिका पहिचानलाई फराकिलो बनाउन योगदान पु¥याएको बताए। नयाँ पुस्तालाई पुरानो पुस्ताले डोर्याउँदै लैजानुपर्ने उनले सुझाव दिए। त्यस्तै, महासंघका निवर्तमान अध्यक्ष तथा भरतपुर–११ का वडासदस्य सागर कुमालले फोनिजकै कारण जनजातिका मुद्धा जीवित रहेको टिप्पणी गरे।
फोनिज चितवनका अध्यक्ष तुलमान गुरूङले नेपाल पत्रकार महासंघले स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई संस्थापक अध्यक्षका रूपमा स्वीकार नगरेसम्म फोनिजले आन्दोलन जारी राख्ने घोषणा गरे। कार्यक्रममा श्रेष्ठको तस्बिर राखेर उनको योगदान स्मरण गरिएको थियो।
फोनिज चितवनका उपाध्यक्ष उर्गेन तामाङले स्वागत मन्तव्य दिएका कार्यक्रममा पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष महेन्द्रराज श्रेष्ठ, तामाङ पत्रकार संघ बागमती प्रदेशका सदस्य बबिलाल तामाङ, कार्यबहाक अध्यक्ष सन्तोष तामाङ, थारु पत्रकार संघ चितवनका अध्यक्ष दीपेश चौधरी, नेवा पत्रकार राष्ट्रिय दबूः चितवनका सचिव सुनिलकुमार श्रेष्ठलगायत सहभागी थिए।
काठमाडौँमा सम्मान
२६औँ स्थापना दिवसको अवसरमा फोनिजको सङ्घीय समिति र बागमती प्रदेश समितिले संयुक्त रूपमा चितवनका दुई फोनिजकर्मीलाई सम्मान गरेको छ। बागमती प्रदेशको सिफारिसमा पूर्णबहादुर मगर (विशाल आले) र फोनिज मलेसिया शाखातर्फबाट पूर्वकोषाध्यक्ष ज्ञानेन्द्र तामाङलाई मङ्गलबार काठमाडौँमा ‘२६औँ फोनिज राष्ट्रिय अवार्ड–२०८२’ प्रदान गरिएको हो।
यसअघि फोनिज चितवनका पूर्वअध्यक्ष सन्दीपकुमार श्रेष्ठलाई सङ्घीय समितिले स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारी दिएको थियो। चितवन शाखाले ती तीनै जनालाई बधाई ज्ञापन गरेको छ।


