विराटनगर। नेकपा एमाले कोशी प्रदेश कमिटीको बैठकले तीन जनालाई साधारण सदस्यतासहित पार्टीबाट नै निष्कासन गर्ने निर्णय गरेको छ भने दुई जनासँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ।
प्रदेश कमिटीका सचिव राजकुमार भण्डारीका अनुसार प्रदेश कमिटी सदस्य द्वारिकालाल चौधरी, कोशी प्रदेश कमिटीका सल्लाहकार ध्रुव सिवाकोटी तथा मनोरथ तिवारीलाई पार्टीको साधारण सदस्यताबाट समेत हटाइने निर्णय गरिएको हो।
इटहरी उपमहानगरका पूर्व मेयर चौधरी र झापाको बिर्तामोडका पूर्व मेयर सिवाकोटी दुवै २०७४ को स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए। २०७९ मा पुनः मेयर बन्न चाहेका चौधरीलाई टिकट नदिएपछि उनी माओवादीमा प्रवेश गरेका थिए। सुनसरी–२(१) बाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका चौधरी एमालेका रेवतीरमण भण्डारीसँग पराजित भएपछि पुनः एमाले फर्किए पनि पार्टी गतिविधिमा सक्रिय हुन सकेका थिएनन्। उनी स्थानीय नेताहरूको आलोचना गर्दै आएका थिए।
साधारण सदस्यबाट निष्कासनमा परेका सिवाकोटीमाथि भने आफ्नै घरमा काम गर्ने किशोरीमाथि बलात्कार गरेको आरोप लागेको छ। सो प्रकरणमा केही समय हिरासत बसेका उनी पछिल्ला महिनामा धरौटीमै रिहा भएका थिए। मुद्दा अदालतमा विचाराधीन रहेको छ। उनलाई प्रहरी हिरासतमा नराखी अस्पतालमा राखिएको तथा पार्टीले संरक्षण गरेको आरोप पनि लाग्दै आएको छ।
मनोरथ तिवारी भदौ २४ गते भएको आगजनी, तोडफोड तथा लुटपाट घटनामा संलग्न रहेको पुष्टि भएपछि कारबाही गरिएको सचिव भण्डारीले बताए। उनका अनुसार, “यस्ता व्यक्तिलाई पार्टीमा ठाउँ छैन भन्ने सन्देश दिन कारबाही गरिएको हो।”
यसबाहेक, पार्टीले इटहरीका काशीनाथ दङ्गाल र डा. बद्री विशाल पोख्रेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। दङ्गाल पूर्वमा नेकपा कालमा इटहरी नगर कमिटीका सचिवसमेत रहेका थिए।


