काठमाडौं ,१४ साउन । रुसमा बुधबार आएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि जापानमा सुनामीको उच्च जोखिमका कारण १९ लाखभन्दा बढी नागरिकलाई घर खाली गर्न आदेश दिइएको छ ।
जापानका अधिकारीहरूले होक्काइडोदेखि दक्षिणको वाकायामा प्रान्तसम्मका तटीय बासिन्दालाई सुरक्षित स्थानमा जान अपिल गरेका छन् । खासगरी उत्तरी जापानमा सुनामीका लहरहरू ठोक्किन थालेपछि त्यहाँको तटीय क्षेत्र खाली गराइएको हो । चिबा समुद्री तटको एक अवलोकन केन्द्रमा मानिसहरू भेला भएका छन् भने करिब १० हजार ५०० व्यक्ति होक्काइडोमा प्रभावित छन् ।
जापानको मौसम विज्ञान एजेन्सीका अनुसार, सुनामीको लहर तीन मिटरभन्दा माथि उठ्न सक्ने अनुमान गरिएको छ । प्रशान्त तटसँगै अन्य संवेदनशील क्षेत्रहरूमा पनि सतर्कता जारी गरिएको छ ।
यसैबीच, टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) ले फुकुसिमा डाइची र फुकुसिमा डाइनी परमाणु ऊर्जा केन्द्रका कामदारलाई सुरक्षितरूपमा अग्लो स्थानमा स्थानान्तरण गरिएको जानकारी दिएको छ । प्लान्टमा हालसम्म कुनै क्षति नभएको र सतर्क निगरानी भइरहेको टेप्कोले स्पष्ट पारेको छ ।
सन् २०११ मा जापानमा आएको ९ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीले फुकुसिमा डाइची प्लान्टमा विश्वकै ठूलो परमाणु दुर्घटना गराएको थियो । टेप्कोले हालै मात्र उक्त दुर्घटनाबाट बाँकी रहेको इन्धनको भग्नावशेष हटाउन अझै १२ देखि १५ वर्ष लाग्न सक्ने जनाएको थियो ।–00–

