प्राविधिक परीक्षण सफल

जेनजी आन्दोलनका कारण बन्द भएको मौलाकाली केबलकार पुनःसञ्चालनको तयारी

नवलपरासी । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि बन्द भएको मौलाकाली केबलकार दुई महिनापछि पुनःसञ्चालनको तयारीमा आएको छ। आइतबार साँझ सम्पन्न प्राविधिक परीक्षण सफल भएपछि कम्पनीले छिट्टै नियमित सेवा सुरु गर्ने तयारी गरेको जनाएको छ।

मौलाकाली केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलका अनुसार केबलकारका क्षतिग्रस्त उपकरणहरूको विस्तृत परीक्षण तथा मर्मतपछि सञ्चालनयोग्य बनेको छ। “अझै केही दिन आन्तरिक परीक्षण गर्नेछौँ, कुनै समस्या नआएमा चाँडै नै सर्वसाधारणका लागि खुला गर्छौँ,” पौडेलले बताए।

जेनजी आन्दोलनका क्रममा तल्लो स्टेशनमा ठूलो क्षति पुगेपछि केबलकार जडान गर्ने अष्ट्रियाली कम्पनीबाट विशेष प्राविधिक टोली आएको थियो। टोलीले करिब एक हप्ता उपकरणको विस्तृत परीक्षण तथा मर्मतसम्भार गरेको थियो।

“मर्मतपछि सम्पूर्ण प्रणाली प्राविधिक रूपमा सुरक्षित रहेको प्रमाणित भएको छ,” स्टेशन म्यानेजर पौडेलले भने, “अन्तिम चरणका परीक्षणपछि केबलकार पूर्ण क्षमतामा चल्नेछ।”

भक्तजन र पर्यटकको आगमनमा प्रभाव-

आगो र तोडफोडका कारण केबलकार बन्द हुँदा मौलाकालिका मन्दिरमा आउने भक्तजनको सङ्ख्यामा उल्लेख्य कमी आएको छ। मौलाकालिका मन्दिर धार्मिक सेवा समितिका अध्यक्ष शालिकराम सापकोटाका अनुसार दसैँको समयमा पनि दर्शनार्थीको उपस्थिति घटेको थियो।

“केबलकार चलेका बेला भक्तजन उल्लेख्य रूपमा आउने गर्नुहुन्थ्यो,” सापकोटाले भने, “अब पुनःसञ्चालन भएपछि दर्शनार्थी र पर्यटक दुवै बढ्ने अपेक्षा छ।” मौलाकालिका मन्दिर धार्मिक महत्वसहित प्राकृतिक सौन्दर्यका कारण पनि चर्चित छ। हिउँदमा मन्दिर परिसरबाट कुहिरोसहित सूर्योदय, उत्तरतर्फ तनहुँ–गोरखाका पहाड र हिमालसमेत अवलोकन गर्न सकिन्छ।

समुद्री सतहबाट ५६१ मिटर उचाइमा अवस्थित यो मन्दिर नारायणघाट बजारबाट करिब पाँच किलोमिटर पश्चिम–उत्तरमा पर्छ।

केबलकारमा करोडौँ क्षति-

मौलाकाली केबलकार लिमिटेडका अध्यक्ष तथा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार आगजनी र तोडफोडबाट संरचना तथा उपकरणमा करोडौँ रुपैयाँको क्षति पुगेको थियो।

कम्पनीले मर्मतपछि केबलकार पुनः सुरक्षित र सञ्चालनयोग्य बनेको जनाएको छ।–00–

तस्विरः कमलराज ढकाल

Share:

सम्बन्धित समाचारहरु