रास्वपाको विस्तारित बैठक सौराहामा शुक्रबारदेखि सुरु, तयारी पूरा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक शुक्रबारदेखि चितवनको सौराहास्थित चित्रसारीमा सुरु हुँदैछ । पार्टीले बैठकका सबै तयारी पूरा गरेको जनाएको छ।

दुई दिन अर्थात् २१ र २२ कात्तिकसम्म चल्ने बैठकले पार्टीको आगामी रणनीति, सांगठनिक पुनर्गठन र महाधिवेशनका तयारीबारे निर्णय लिनेछ। बैठकको उद्घाटन पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले गर्नेछन्। पार्टीले आज सौराहामा पत्रकार सम्मेलन गरी बैठकका सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।

बैठकमा राजनीतिक प्रतिवेदन कार्यवाहक सभापति अर्यालले, वाचापत्रको मस्यौदा अर्का उपसभापति डा. स्वर्णिम वाग्लेले, सांगठनिक प्रतिवेदन महामन्त्री कविन्द्र बुर्लाकोटीले र उम्मेदवार छनोट विधी सम्बन्धी प्रतिवेदन सहमहामन्त्री विपिन आचार्यले प्रस्तुत गर्ने तयारी गरिएको छ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद् सदस्य, प्रदेश सचिवालय सदस्य, प्रतिनिधि सभा क्षेत्रीय सभापति, जिल्ला सभापति, विदेशस्थित संगठनका पदाधिकारी र पालिकाका सभापतिसहित ५१२ जना प्रतिनिधि सहभागी हुनेछन्। बैठकमा प्रदेश सभापतिहरूले आफ्ना प्रदेशका संगठनात्मक अवस्थाबारे धारणा राख्ने र प्रतिवेदनमाथि प्रतिनिधिहरूका सुझावसहित परिमार्जन गरी बैठक टुंग्याउने तयारी गरिएको छ।

रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार, बैठकमा आगामी फागुनमा हुने भनिएको महाधिवेशनबारे पनि निर्णय हुने छ। सरकारले फागुनमा निर्वाचन गर्ने तयारी गरिरहेकाले महाधिवेशनको मिति र स्वरूपबारे पनि छलफल हुने उनले बताए। बैठकमा पार्टी संरचना पुनर्गठन, सांगठनिक कमजोरी, वैकल्पिक राजनीतिक शक्ति निर्माण र भावी रणनीतिबारे सघन बहस हुने पार्टी नेताहरूले जनाएका छन्।

जेनजी आन्दोलनपछि पार्टीभित्र देखा परेको विवाद र सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्केपछि उत्पन्न अवस्थाबारे पनि बैठकले धारणा तय गर्ने प्रवक्ता मनिष झाको भनाइ छ। उनले पार्टीभित्र फरक–फरक धारणा सम्मानपूर्वक सुन्ने वातावरण रहेको बताए।

बैठकमा सहभागी हुने प्रतिनिधिहरूका लागि दुई दिनको खाना र खाजाको व्यवस्था पार्टीले गर्ने छ भने आवासको व्यवस्था सहभागीले आफैं गर्नुपर्ने छ। खाना र खाजाका लागि हरेक प्रतिनिधिबाट १ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ। हल परिसरमै क्याटरिङमार्फत पकाउने र खाने व्यवस्था मिलाइएको चितवनका जिल्ला सभापति कृष्णप्रसाद भुषालले जानकारी दिए।

उनका अनुसार सौराहाका होटलमा साधारण कोठा १ हजार, मध्यमस्तरको २ हजार र सुविधा सम्पन्न कोठा ३ हजार रूपैयाँमा उपलब्ध हुने सहमति भएको छ।

बैठक व्यवस्थापनका लागि पूर्व सांसद हरि ढकालको संयोजनमा १७ सदस्यीय मूल समिति र ७ वटा उपसमिति गठन गरिएको छ। –00—

Share:

सम्बन्धित समाचारहरु