काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट बुधबार सिंहदरबारस्थित ‘जेनजी आन्दोलन छानबिन आयोग’को कार्यालयमा बयानका लागि लगिएको छ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई जेनजी आन्दोलनका क्रममा कारागारबाट बाहिरिएको विवादास्पद घटनाबारे सोधपुछ गर्न आयोगले बोलाएको हो। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन हिंसात्मक रूप लिएको थियो। भदौ २४ गते सहकारी ठगी मुद्दामा नख्खु कारागारमा रहेका लामिछाने पनि ‘असुरक्षाको कारण’ देखाउँदै अन्य कैदीबन्दीसँगै कारागारबाट बाहिरिएका थिए।
उनी बाहिर निस्कँदा प्रयोग गरिएको ‘रिहाइ पत्र’को आधिकारिकतामा प्रश्न उठेपछि उक्त घटना विवादमा तानिएको थियो। पछि लामिछाने आफैं कारागार फर्किएका थिए।
सरकारले उक्त आन्दोलन र त्यस क्रममा भएका हिंसात्मक घटना, दमन तथा कारागारबाट कैदीबन्दी भागेको विषयको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको हो।–00–


