हुम्लामा ठुलो परिमाणको अवैध चिनियाँ मदिरा बरामद

 हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाले ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद गरेको छ।

डीएसपी शंकर पोखरेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट ३५१ कार्टुन (४ हजार २१२ बोतल) अवैध चिनियाँ मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ।

हिल्सा नाकादेखि नाम्खा गाउँपालिकाको ढाडकेर्मी, तुम्कोटलगायत स्थानहरूमा गरिएको अभियानका क्रममा उक्त मदिरा फेला परेको प्रहरीले जनाएको छ। डीएसपी पोखरेलका अनुसार बरामद मदिराको बजार मूल्य १६ लाख ८४ हजार ८०० रुपैयाँ बराबर रहेको छ।

उनले जनाएअनुसार ती मदिरा प्रति बोतल करिब ४ सय रुपैयाँ पर्नेछन्। प्रहरीले बेवारिसे अवस्थामा भेटिएको २ हजार २२ लिटर अवैध तथा अखाद्य चिनियाँ मदिरा समेत बरामद गरेको छ। बरामद गरिएको सम्पूर्ण मदिरा नष्ट गरिने प्रहरीले जनाएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु