माडी चार दिनदेखि बत्तीविहीन, समस्या अझै पत्ता लागेन

रेशम सापकोटा – सेतो नेपाल
चितवन । शुक्रबार रातिदेखि माडी उपत्यकामा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रका अनुसार सोमबार बिहान दुई स्थानमा बिग्रिएको केबुल फेला पारेर मर्मत गरिएको थियो।

तर परीक्षणका क्रममा दिउँसो लाइन चार्ज गर्दा करिब १० मिनेटमै फेरि फल्ट देखा परेको थियो। यसपछि नयाँ बिग्रिएको स्थान पत्ता लगाउने प्रयास गरिएको भए पनि सोमबार साँझसम्म समस्या पहिचान हुन सकेन। फलस्वरूप सोमबार पनि माडीमा विद्युत् आपूर्ति सुचारु हुन सकेन।

लगातार चार दिनसम्म विद्युत् नआएपछि स्थानीय जनजीवन निकै प्रभावित भएको छ। घरायसी काम ठप्प हुनुका साथै व्यवसाय र दैनिक गतिविधिमा कठिनाइ आएको छ। यसैबीच नेपाल टेलिकमको मोबाइल नेटवर्क र इन्टरनेट सेवा समेत अवरुद्ध भएको छ, जसले सञ्चारमा पनि ठुलो समस्या सिर्जना गरेको छ।

नेपाल विद्युत् प्राधिकरणले नयाँ फल्ट फेला पार्ने काम जारी राखेको छ र समस्याको समाधान चाँडो गरिने जानकारी  दिएको छ ।

Share:

सम्बन्धित समाचारहरु