चितवन, २० असोज । लगातार वर्षाका कारण उत्पन्न जोखिमपछि शनिबार रोकिएका सवारीसाधनहरू आइतबारदेखि गन्तव्यतर्फ पठाइएका छन्।
राजधानी काठमाडौंसहित पूर्व–पश्चिम राजमार्गमा शनिबार साँझ ६ बजेदेखि सवारी सञ्चालन रोकिएको थियो। तर, मौसममा सुधार आएपछि र अवरुद्ध सडक पन्छाएपछि यातायात पुनः सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले जानकारी दिए।
उनका अनुसार, नारायणगढ–मुग्लिङ सडकखण्डमा तुइनखोला पहिरो पन्छाएपछि आइतबार बिहान ८ बजेदेखि सवारी सञ्चालन गरिएको हो। उनले भने, “हामीले पूर्ण रूपमा सवारी सञ्चालन गरेका छैनौँ। अहिले रोकिएका र आपत्कालीन सवारीसाधन मात्र चलाइरहेका छौँ।”
प्रजिअ अर्यालका अनुसार, मुग्लिङदेखि काठमाडौँसम्मको सडकखण्डमा अझै पनि विभिन्न स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ। विशेषगरी मुग्लिङ–मलेखु र मलेखु–नागढुङ्गा खण्डमा माटो र ढुंगा झरेका कारण सडक पूर्ण रूपमा खुल्न बाँकी छ। “सडक पूर्ण रूपमा सञ्चालन नभएसम्म सवारीसाधनलाई नियन्त्रणमा राखिनेछ,” उनले बताए।
सवारी सञ्चालनमा रोक लगाइँदा भरतपुर विमानस्थलमा यात्रुको चाप बढेको थियो। हवाई उडान प्रभावित भएपछि यात्रुलाई गन्तव्यसम्म पुर्याउन प्रशासनले विमानस्थलबाटै बस र माइक्रोबसको व्यवस्था गरेको हो।
प्रजिअ अर्यालका अनुसार, यातायात व्यवसायीसँग समन्वय गरी यात्रुलाई नियमानुसार भाडा लिएर गन्तव्यमा पठाउने व्यवस्था मिलाइएको छ। अत्यावश्यक सवारीसाधन र रोकिएका गाडीलाई मात्र अनुमति दिइएको उनले जानकारी दिए।–00–


