-रेशम सापकोटा।सेतो नेपाल
माडी,१८ असार । माडी नगरपालिकाको आयोजनामा आयोजित उक्त तालिम माडी–३, बसन्तपुरस्थित माडी क्याम्पसको कम्प्युटर ल्याबमा सञ्चालित थियो। २०८१ सालको चैत १९ गतेदेखि सुरु भई २०८२ साल असार १३ गतेसम्म सञ्चालन भएको तालिममा माडीका युवा उद्यमी कृष्ण परियारले प्रशिक्षण दिनुभएको थियो।
सूचना प्रविधिमा पहुँच अभाव भएका दलित समुदायका विद्यार्थीहरूलाई डिजिटल सीपमा दक्ष बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिमको समापन एक विशेष समारोहका बीच सम्पन्न भयो।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा माडी नगरपालिकाका नगर प्रमुख ताराकुमारी काजी महतो सहभागी हुनु भएको थियो। समापन कार्यक्रममा उहाँले भन्नुभयो, “सूचना प्रविधिमा सबैको पहुँच सुनिश्चित गर्नु हाम्रो दायित्व हो। यो तालिम दलित विद्यार्थीहरूका लागि अवसरको ढोका बन्नेछ भन्नेमा म विश्वस्त छु। विद्यार्थीहरूले प्राप्त ज्ञानलाई व्यवहारमा रूपान्तरण गरी आत्मनिर्भर बन्ने प्रयास गर्नुपर्छ। नगरपालिका सधैं यस्ता कार्यक्रमको प्रोत्साहनमा रहनेछ।”
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सूचना अधिकृत प्रविण भण्डारी सहभागी हुनुहुन्थ्यो भने अध्यक्षतामा माडी नगरपालिका वडा नं. २ का वडा सदस्य तथा माडी नगर दलित समितिका संयोजक ऋचा सुनार रहनुभएको थियो।
तालिममा प्रारम्भमा ४० जना सहभागी रहे पनि २९ जना सहभागीहरूले तालिम सफलतापूर्वक सम्पन्न गरी प्रमाणपत्र प्राप्त गरेका थिए। प्रशिक्षार्थीहरूमा सूचना प्रविधिप्रति रुचि बढेको र भविष्यमा रोजगारी तथा उद्यमशीलतामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


