काठमाडौं — देशभर मनसुन सक्रिय बनेसँगै वर्षातका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले सवारी चालकहरूलाई अत्यधिक सावधानी अपनाउन आग्रह गरेको छ। आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले ट्राफिक प्रहरीले सडक सुरक्षामा उच्च सतर्कता अपनाउँदै उपत्यकाका प्रमुख नाकाहरूमा माइकिङ सुरु गरेको जनाएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीका अनुसार वर्षात्का बेला सडक चिप्लो हुने, दृश्यता कम हुने र बाढी–पहिरोको जोखिम उच्च हुने भएकाले चालकहरूलाई सचेत पार्नका लागि माइकिङ अभियान सञ्चालन गरिएको हो।
उनले भने, “हालैको मौसम पूर्वानुमानअनुसार तीन दिनसम्म मनसुन सक्रिय रहने देखिएकाले यस्तो समय सवारी सञ्चालनमा जोखिम रहन्छ। त्यसैले चालकहरूलाई सचेत गराउन उपत्यकाका प्रमुख नाका तथा व्यस्त स्थानहरूमा माइकिङ सुरु गरेका छौँ।”
ट्राफिक प्रहरीले विशेषगरी नागढुङ्गा, साँगा, थानकोट, बालाजु, सातदोबाटो लगायतका स्थानहरूमा प्रहरी परिचालन गरी गएरातिदेखि माइकिङ तथा मौखिक सूचना वितरण सुरु गरेको छ। लामो दूरीका सवारी चालकहरूलाई राति तथा वर्षातको समयमा एक्लै यात्रा नगर्न, समूहमा यात्रा गर्न र सवारीको ब्रेक, टायर, लाइट लगायत प्राविधिक परीक्षण नियमित रूपमा गर्न आग्रह गरिएको छ।
एसएसपी अधिकारीका अनुसार पृथ्वी, सिद्धार्थ, बिपी र अरनिको राजमार्ग जस्ता पहाडी तथा पहिरोको जोखिम भएका मार्गहरूमा जोखिम अझ बढी हुने भएकाले त्यस्ता क्षेत्रमा झनै सतर्क रहनुपर्ने बताएका छन्।
वर्षातका समयमा पहिरो, सडक कटान, पानी जम्ने आदि कारणले सडक अबरुद्ध हुने वा दुर्घटना हुने सम्भावना बढी हुने भएकाले ट्राफिक प्रहरीले विगतका अनुभवबाट सिक्दै यस वर्ष सुरुआतदेखि नै सतर्कता अपनाएको जनाएको छ।
सडक सुरक्षाका लागि ट्राफिक प्रहरीले देशभरका मुख्य सडक र राजमार्गहरूमा नियमित गस्ती, सूचनाको आदान–प्रदान र आकस्मिक उद्धारका तयारीसहित टोली परिचालन गरेको छ। साथै, सामाजिक सञ्जाल (फेसबुक, एक्स/ट्विटर) र विभागीय वेबसाइटमार्फत मौसम अपडेट, सडक स्थिति र आकस्मिक सूचना नियमित रूपमा प्रकाशन गरिँदै आएको छ।
उपत्यका ट्राफिक प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार अपायक मौसम, कमजोर सडक पूर्वाधार र बढ्दो ट्राफिक चापका कारण दुर्घटनाको जोखिम स्वाभाविक रूपमा बढ्ने भएकाले चालक, यात्री र सरोकारवालाबीच आपसी समन्वय र सचेतना अत्यावश्यक छ।
उनले भने, “‘सावधानी अपनाऔँ, दुर्घटनाबाट बचौँ’ भन्ने नारालाई व्यवहारमा उतार्दै सुरक्षित यात्रा सुनिश्चित गर्नुपर्ने आवश्यकता आजको दिनमा झनै बलियो रूपमा महसुस भएको छ। सोही अनुसार ट्राफिक प्रहरी सक्रिय रूपमा सडकमा खटिएको छ।”–00–


