आज गृहमन्त्रीको पुरानो नागरिकता विवादको अन्तिम सुनुवाइ

चितवन,माघ ११

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पदको निरन्तरतासँग जोडिएको उनको नागरिकता विवादमा सर्वोच्च अदालतमा आजदेखि अन्तिम सुनुवाइ हुदैछ । लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता कायम रहेको वा नरहेको र उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन फेरि आवेदन दिनुपर्ने थियो वा थिएन भन्ने विवाद सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ ।

अमेरिका हुँदा त्यहाँको नागरिकता लिएका लामिछाने नेपाल आएर सञ्चारकर्म गरिरहँदा विवाद भएपछि त्यहाँको नागरिकता त्यागेका थिए । अमेरिकाको नागरिकता त्यागेपछि नेपालको नागरिकता फेरि कायम गर्ने प्रक्रिया पूरा नगरेको भनी उनको सांसद पद खारेज हुनुपर्ने मागदावी सहितको सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

‘दोहोरो नागरिकता, नागरिकता परित्याग र पुन कायम गर्ने विषयमा यो विवाद महत्वपूर्ण नजीर हुने र दूरगामी महत्व राख्ने देखिन्छ’ बरिष्ठ अधिवक्ता एवं संवैधानिक कानुनका ज्ञाता दिनेश त्रिपाठी भन्छन्, ‘अर्कोतर्फ यो संवैधानिक इजलास हो, ५ जना न्यायाधीशले गर्ने फैसला पुनरावलोकन पनि नहुने भएकाले प्रतिनिधिसभा विघटनपछि निकै महत्वपूर्ण र संवैधानिक व्याख्याको अवसर छ ।’

लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि फेरि नागरिकता कायम गराउन निवेदन नदिएकाले उनको पुरानो नागरिकता प्रमाणपत्र बैध नहुने दावी रिट निवेदकको छ । गृहमन्त्री लामिछानेले भने आफूले नागरिकता परित्याग नगरेको दावी गरेका छन् । अमेरिकाको नागरिकता लिएपछि नेपालको नागरिकता कायम नरहे पनि त्यताको त्याग्नासाथ स्वतः कायम हुने उनको दावी छ ।

गृह मन्त्रालयले पनि लामिछानेको लिखित जवाफसँग मेल खाने जवाफ सर्वोच्च अदालतमा पठाएको छ । लिखित जवाफमा भनिएको छ, ‘कुनै नेपाली नागरिकले अन्य देशको नागरिकता प्राप्त गरेको जानकारी तोकिएको अधिकारीलाई आधिकारिक रुपमा प्राप्त नभएसम्म तोकिएको अधिकारीले त्यस्तो व्यक्ति नेपाली नागरिक कायम नरहेको भनी अनुमान गरी कारवाही प्रक्रिया अगाडि बढाउन मिल्ने देखिँदैन ।’

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु