मुस्ताङमा नौ महिनामै एक लाख आठ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए

मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सन् २०२५ को जनवरीदेखि सेप्टेम्बर २८ सम्ममा एक लाख आठ हजार ६८६ जना विदेशी पर्यटकले भ्रमण गरेका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार अघिल्लो वर्ष सोही अवधिमा एक लाख दुई हजार ८९४ जना विदेशी पर्यटक मुस्ताङ पुगेका थिए। यसरी गतवर्षको तुलनामा यो वर्ष पाँच दशमलव ३२ प्रतिशतले विदेशी पर्यटकको आगमन बढेको छ।

सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्म मुस्ताङमा कुल एक लाख ३५ हजार ७१९ जना विदेशी पर्यटक आएका थिए। यो अनुपात कायम राख्न सन् २०२५ को अन्त्यसम्म थप २७ हजार ३३ जना अर्थात् करिब १९ दशमलव ९१ प्रतिशतले पर्यटक वृद्धि हुनुपर्ने एक्यापले जनाएको छ।

तर यसपटक पर्यटक ‘सिजन’मा प्रतिकूल मौसम र युवाहरूको जेनजी आन्दोलनका कारण अपेक्षित विदेशी पर्यटक आउन नसकेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले बताए। उनका अनुसार सन् २०२४ को सेप्टेम्बरमा मात्रै ११ हजार ७८५ जना विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका थिए।

मुस्ताङको पृथक भूगोल, प्राचीन धार्मिक गुम्बा, मठमिन्दर, माने छोर्तेन, मानव निर्मित पुराना गुम्बा र मनोरम हिमशृङ्खलाको दृश्यावलोकन गर्न विदेशी पर्यटक आउने गरेका छन्। साथै, उपल्लो मुस्ताङस्थित ऐतिहासिक लोमान्थाङ दरबार, छोसेर गुफा, मुक्तिनाथ मन्दिर, ढुम्बाताललगायतका महत्त्वपूर्ण धार्मिक तथा प्राकृतिक सम्पदाहरु पर्यटकको आकर्षणका मुख्य गन्तव्य रहेको एक्यापले जनाएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु