शिक्षामन्त्री पुनद्वारा तलब प्रकरणमा स्पष्टीकरण, पालिकालाई कारबाहीको चेतावनी

काठमाडौं । विद्यालय प्रधानाध्यापकले शिक्षकको तलब रोकेको भन्दै कारबाही गर्ने चेतावनी दिएका शिक्षामन्त्री महावीर पुनले चौतर्फी आलोचना भएपछि आफ्नो स्टाटस सच्याएका छन्।

यसअघि मन्त्री पुनले “भोलिसम्म शिक्षकलाई तलब निकासा नगरे प्रधानाध्यापकलाई कारबाही गर्ने” चेतावनी सामाजिक सञ्जालमार्फत दिएका थिए। तर शिक्षकलाई तलब प्रधानाध्यापकले नभई पालिकाले दिने व्यवस्था भएको भन्दै सो अभिव्यक्तिप्रति व्यापक आलोचना भएको थियो।

विवादपछि मन्त्री पुनले दोस्रो सूचना जारी गर्दै पालिकामार्फत तलब निकास गर्ने प्रावधान स्पष्ट पारेका छन्। उनले भने, “शिक्षा मन्त्रालयबाट दशैंअघि नै शिक्षकको तलब सम्बन्धित पालिकामा पठाइएको हो। तर केही पालिकाले जानाजान तलब रोकेको गुनासो आएको छ।”

मन्त्री पुनले दशैं–तिहारको अवसरमा शिक्षकलाई तलब दिन ढिलासुस्ती गर्ने पालिकालाई कारबाही गर्ने चेतावनीसमेत दिएका छन्। उनले भोलिसम्म तलब निकासा नभएमा सम्बन्धित पालिकाविरुद्ध कानुनअनुसारको प्रक्रिया अघि बढाइने बताएका छन्।–00—

Share:

सम्बन्धित समाचारहरु