जेठ ३० गते साँझ करिब ६:५० बजे भरतपुर महानगरपालिका–३ स्थित नारायणी पुलबाट एक अन्दाजी ३५–४० वर्षीया महिलाले हाम फालेको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षक विध्यान्चल साहको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
महिलाले हाम फालेको केहीबेरमै स्थानीय पानी मोटर बोटको सहायताले उनीलाई उद्धार गरी भरतपुर सरकारी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। सुरुवाती अवस्थामा बोल्न नसक्ने अवस्थामा रहेकी ती महिलाको अवस्था अहिले सुधार हुँदै गएको र अहिले बोल्न सक्ने अवस्थामा पुगेको प्रहरीले जानकारी दिएको छ।
अनुसन्धानको क्रममा ती महिला नवलपरासीको बुलिङ्टार गाउँपालिका–१ स्थायी घर भइ हाल गैँडाकोट नगरपालिका–१ नयाँ बजारमा डेरामा बस्दै आएकी ३८ वर्षीया सुनिता बिर्कट्टा मगर भएको खुलेको छ।
उनको उपचारमा छोरी समेत अस्पतालमा संलग्न रहेको र हालको अवस्था सामान्य रहेको जनाइएको छ। उद्धार गरिएको स्थान वडा प्रहरी कार्यालय नारायणगढबाट करिब ७०० मिटर उत्तरतर्फ पर्छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।


