विराटनगर । भारतको जोगबनी बजारमा समुदायबीच विवाद बढेपछि स्थानीय बजार बन्द गरिएको छ । इस्लाम धर्मगुरु पैगम्बरबारे गरिएको टीकाटिप्पणीपछि पक्ष–विपक्षबीच तनाव चर्किँदा शुक्रबार जोगबनी तनावग्रस्त बनेको हो ।
दसैँको किनमेलका लागि नेपालतर्फबाट ठूलो संख्यामा उपभोक्ता जोगबनी पुग्ने गरे पनि अहिले नेपाली पक्षबाट सीमा नाका बन्द गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालतर्फको सीमा अस्थायीरूपमा बन्द गरिएको जानकारी दिएका छन् ।
सीमामा पुगेका धेरै नेपाली उपभोक्ता फर्किएका छन् । अहिले जोगबनीमा नाराबाजी जारी छ भने ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
चाडपर्वको समयमा सस्तो बजारका कारण नेपालीहरूको भिड लाग्ने जोगबनीमा यसपटक तनाव र सुरक्षाको कारण किनमेल प्रभावित भएको छ ।
फाईल तस्बिर


